काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल र स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । उनीहरु प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उहाँकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते हुनुभएको छ । घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा एकको मृत्यु
भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नम्बरको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको उहाँले बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु