
काठमाडौं । प्रतिनिधिसभा पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ ।
सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।
मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाउनुभएको छ । प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।
एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डोटीमा प्रतिनिधिसभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशसभा १ तर्फ ३३ हजार ३२२ मत खसेकोमध्ये एक हजार ९१९ मत बदर भएको छ । प्रदेशसभा २ मा ३० हजार २३४ मत खसेकोमध्ये एक हजार ७ सय ३२ मत बदर भएको छ ।
डोली जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले विजयी हुनुभएको छ । साथै, प्रदेशसभा १ मा नेकपा (एमाले)का चक्र मल्ल प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली विजयी हुनु भएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको सङ्ख्या बढेको उम्मेदवारहरुको गुनासो छ । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिकतर्फको मतको नतिजा सार्वजनिक भएको छैन । अहिले समानुपातिकतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिनुभयो । रासस