गोरखा, ९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उहाँले झण्डै ७५ वर्ष लामो सङ्र्घषबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताउनुभयो ।

देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । “राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो”, उहाँले भन्नुभयो, “देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।”

उहाँले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।”

अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताउनुभयो । “गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु”, उहाँले भन्नुभयो, मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।” (रासस) :

सम्बन्धित खबरहरु