काठमाडौं । रौतहट ३ बाट विजयी भएका स्वतन्त्र सांसद प्रभु साहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर बधाई दिनुभएको छ ।

शुक्रवार प्रचण्डले फोन गरेर साहलाई बधाई दिनुभएको हो ।
साहसँगै उहाँकै सहयोगी किरण साह पनि रौतहट २ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ ।

माओवादी परित्याग गरेर एमाले प्रवेश गर्नुभएका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिनुभयो । एमालेको टिकट लिएपनि अन्तिममा प्रभुले स्वतन्त्र उम्मेदवारी दिएपछि त्यो ठाउँमा एमाले उम्मेदवारबिहीन बनेको थियो ।

स्वतन्त्र उम्मेदवारी दिनुभएका साहलाई माओवादीले समर्थन गरेको थियो । उसो त विजयी भएका किरणलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि फोन गर्नुभएको थियो ।

‘प्रचण्डले फोन गरेर बधाई दिनुभयो, काठमाडौंमा आएर कुरा गरौला भन्नुभयो’ साहले खुलाउनुभएको छ । प्रचण्डबाट बधाई लिनेबाहेक अरु कुरा नभएको र काठमाडौंमा गएर आवश्यक पर्दा उचित निर्णय लिने साहले बताउनुभयो ।

नयाँ सरकार गठनका लागि साहसहितका दुई सांसदको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँहरुलाई फकाउन दलका नेताले फोन गर्न सुरु गरेका छन् ।

 

सम्बन्धित खबरहरु