रुपन्देही । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छाडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्नुभएका नेता घनश्याम भुसाल रुपन्देही १ मा पराजित हुनुभएको छ ।

त्यहाँ नेकपा एमालेका छबिलाल विश्वकर्मा विजयी हुनुभएको छ । छबिलालले २४८७२ मत ल्याएर धनश्यामलाई हराउनुभयो । घनश्यामले २१३०८ मत ल्याउनुभयो ।

गठबन्धनको साझा उम्मेदवार बन्नुभएका भुसालको पराजय मत गणना नसकिदै निश्चित भएको थियो ।

मतगणना नसिकिँदै एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका थिए । सो क्षेत्रमा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका पार्टी सचिव छविलाल विश्वकर्माले बाजी मार्दा कार्यकर्ता उत्साहित बने ।

भुसाल आफ्नै पूर्व सहकर्मी छविलालसँग ३५६४ मतले पराजित हुनुभयो ।

यसअघि क्षेत्र नम्बर ३ बाट चुनाव जित्नुभएका भुसाल सो क्षेत्रमा राप्रपालाई एमालेले छाड्ने भएपछि क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न चाहानुहुन्थ्यो ।

तर पार्टीले पहिले सोही क्षेत्रबाट जितेका दलित नेता विश्वकर्मालाई नै उम्मेदवार बनाउने भएपछि भुसाल पार्टी छाडेर बाहिरिनुभएको थियो । स्वतन्त्र उम्मेदवारी दिएपछि सत्ता गठबन्धनको पाँच दलले भुसाललाई समर्थन गरेको थियो ।

सम्बन्धित खबरहरु