काठमाडौं । महिलालाई लिएर दिएका बयानका कारण योग गुरु रामदेव ( Baba Ramdev ) विवादमा परेका छन् ।

शुक्रबार बाबा रामदेवले महिलाको पहिरनबारे टिप्पणी गरेका थिए । महाराष्ट्रमा आयोजित एक कार्यक्रममा राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी अमृता फडणवीसको उपस्थितिमा बाबा रामदेवले महिला भक्तजनलाई लिएर निकै भद्दा बयान दिएका हुन् ।

उनले भनेका छन्, ‘सबैको अनुहारमा म खु:शी देख्न चाहान्छु । तपाईंहरु धेरै खु:शी हुनुहुन्छ । भाग्यशाली हुनुहुन्छ तपाईहरु…धेरै सुन्दर देखिनुभएको छ । अगाडिकालाई सारी लगाउने मौका मिल्यो पछाडि भएकाहरुलाई मौका मिलने् । सारी आफ्नो झोलामा प्याक गरेर ल्याएका थिए ।

बिहान योग गरे, त्यसपछि इन्डिया टिभीको कार्यक्रम भया र अहिले दिउँसोको कार्यक्रम सुरु भयो । अब घरमा गएर लगाउनु । केही फरक पर्दैन् । तपाईंलाई सारी लगाउँदा पनि राम्रो देखिन्छ, सलवार सुटमा पनि अमृताजीजस्तै सुन्दर देखिनुहुन्छ र मजस्तै केही नलगाए पनि सुन्दर देखिनुहुन्छ ।

मान्छेहरु लाज मानेर कपडा लगाउँछन् । बच्चालाई पहिले कसले कपडा लगाउँथ्यो ? हामी त ८ देखि १० वर्षसम्म नांगो घुम्थिम् ।’ त्यसपछि बाबा रामदेवको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

थानेमा पतञ्जलि योग पीठ र मुम्बई महिला पतञ्जलि योग समितिद्वारा योग विज्ञान शिविर तथा महिला सम्मेलन आयोजना गरिएको थियो । जसमा अमृता फडणवीस र बाबा रामदेव सहभागी भए ।

त्यहाँ महिलाहरुले योग पहिरन लगाएर कार्यक्रमपछि हुने आमसभामा सहभागी हुन सारी ल्याएका थिए । तालिम शिविर सकिएलगत्तै बैठक सुरु भएकोले धेरै महिलाले लुगा फेर्न समय पाएनन्, उनीहरु योगा सूट लगाएर शिविरमा सहभागी हुनुपर्यो ।

महिलाहरूलाई योगा सूटमा देखेर रामदेवले उनीहरूसँग सारी लगाउने समय नभए पनि फरक नपर्ने टिप्पणी गरेका हुन् । महिलाहरु सबै पहिरनमा राम्रो देखिने अझ लुगा नलगाएर नांगो हुँदा थप सुन्दर देखिने उनको तर्क थियो । त्यसपछि त्यहाँ उपस्थित मानिसहरू हाँस्न थाल्छन् ।

यस अवसरमा रामदेवले उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नीको पनि तारिफ गरे । भिडियो बाहिर आएपछि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यस विषयमा आवाज उठाएकी छिन् । स्वामी रामदेवले महाराष्ट्रका उपमुख्यमन्त्रीकी पत्नीको अगाडि महिलामाथि गरेको टिप्पणी अभद्र र निन्दनीय भएकोउनले स्पष्ट पारिन् ।

उनका अनुसार रामदेवको बयानबाट सबै महिला दुखित छन्, बाबा रामदेवले देशसँग माफी माग्नुपर्छ । यसबीच पूर्व डीजीपी आरके विजले बाबा रामदेवलाई योगमा मात्र ध्यान दिन सुझाव दिएका छन् । रामदेवको यो भनाइलाई लिएर विवाद सुरु भएको छ ।

महाराष्ट्र महिला आयोगले बाबा रामदेवलाई विवादास्पद बयानलाई लिएर दुई दिनभित्र स्पष्टीकरण दिन भनेको छ । आयोगले भन्यो, ’महाराष्ट्रको ठाणेमा एक कार्यक्रममा बोल्दै बाबा रामदेवले महिलाको इज्जत र प्रतिष्ठामा ठेस पुर्‍याउने अभद्र टिप्पणी गरेका छन् ।

उनको बयानको उजुरी आयोगको कार्यालयमा परेको छ । यस कुरालाई ध्यानमा राख्दै, महाराष्ट्र राज्य महिला आयोगले यसको कडा विरोध गर्दछ ।’ आयोगले थप भन्यो, ‘त्यसैले, महाराष्ट्र राज्य महिला आयोग, १९९३ को धारा १२(२) र १२(३) अनुसार आयोगले बाबा रामदेवलाई आफ्नो बयानको स्पष्टीकरण आयोगको कार्यालयमा दुई दिन भित्र बुझाउन निर्देशन दिन्छ ।’ योसँगै सामाजिक सञ्जालमा पनि बाबा रामदेवको यो विवादित बयानलाई लिएर मानिसहरूले कडा प्रतिक्रिया दिइरहेका छन् ।

सम्बन्धित खबरहरु