काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र एवं गृहमन्त्री बालकृष्ण खाँणको राजनीतिक भविष्यमै कालो बादल लागेको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन हारेपछि उहाँको राजनीतिक भविष्य नै धरापमा परेको हो ।

आफै गृहमन्त्री बहाल रहेको बेला चुनाव हारेपछि उहाँ पार्टीमै संकटमा पर्नुभयो । जनमत नभएपनि देउवाको निकट बनेर सधै आफू र आफ्नालाई अवसर दिने खाँणलाई यो पटक नराम्रो धक्का लाग्यो ।

खाँण पछिल्लो समय विवादित बन्दै जानुभएको थियो । उहाँले पार्टीको महाधिवेशनमा खेलेका भूमिका र आफ्नै पार्टीभित्रका सम्भावना बोकेका केहि युवाहरूलाई चुनावमा रोक्ने प्रयास गरेपछि पार्टीको एउटा तप्काबाट अलोकप्रिय बन्नुभयो । गृहमन्त्री बनेपछि पनि उहाँले अपेक्षित काम गर्न सक्नुभएन ।

त्यसमाथि उहाँले कांग्रेसको समानुपातिक सूचीमा आफ्नी श्रीमती मन्जु खाँणलाई प्रार्थमिकतामा राखेपछि चर्को आलोचना भएको थियो । विपक्षीदेखि आफ्नै पार्टीका नेताहरूले यो विषय जोडतोडले उठाए । नयाँ अनुहार खोजेका युवाहरूका लागि उहाँले लिएको कदम प्रत्युत्पादक बन्यो ।

त्यतिमात्र होइन चुनावकै मुखमा खाँणले अहिलेसम्म गुपचुप राखेको बहुविवाह काण्ड बाहिर आयो । देशको गृहमन्त्री जस्तो व्यक्ति बहुविवाहमा संलग्न भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल बन्यो ।

माहोल आफ्नो अनुकू नदेखिएपछि चुनाव जित्नकै लागि खाँणले गरेका अनेक हत्कण्डा बाहिर आए । रुपन्देहीभित्रै केहि एमाले उम्मेदवारसँग साँठगाँठ गरेर आफू सुरक्षित बन्ने लाइनमा उहाँ लाग्दा कांग्रेसकै शक्तिशाली उम्मेदवारहरूले हार्नु पर्ने अवस्था बन्यो । भैरहवाका एक व्यापारीलाई मेयर बनाउने सर्तमा आफूलाई सघाउने सम्झौता गरेको पत्र नै बाहिरियो ।

चुनाव हार्नुमा यी कारणहरू मुख्य भएपनि उहाँको आफ्नै चुनावी टोलीमा केहि व्यक्ति उहाँलाई हराउन लागिपरेका थिए । खाँणको चुनावी अभियानमा हिंडेको एउटा समूहले भित्रभित्रै उहाँलाई सिध्याउने अभियान चलाएको थियो ।

यसअघि देउवाको विश्वास जित्नकै लागि पार्टीमा युवाहरूलाई निषेध गर्न लागि पर्ने गर्नुभएका उहाँलाई गृहजिल्लाले साइजमा ल्याएको कांग्रेसकै नेताहरू बताउँछन् । उहाँले चुनाव हार्दा अन्य दलका भन्दा बढी आफ्नै पार्टीका नेताहरू खुसी भएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले उहाँलाई पराजित गर्नुभयो । उहाँले बहालवाला गृहमन्त्रीलाई पराजित गरेर रेकर्ड राख्नुभयो ।

बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर २ हजार ६८१ छ ।

 

सम्बन्धित खबरहरु