काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका थुप्रै देशसँग मिलेर काम गरिरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो एउटा यस्तो अवसर हो, जहाँ सिङ्गो देशले यसलाई सम्झेको छ ।”

“हामी यस हमलाका दोषीलाई न्यायको कठघरामा उभ्याउने विषयमा दृढ छौं र न्यायको प्रक्रिया पूरा गर्न कटिबद्ध छौं ।

उहाँले भन्नुभयो, “आज मुम्बईमा भएको २६÷११ को आतंकवादी हमला भएको दिन हो । यतिका वर्ष बितिसक्दा पनि योजना बनाउने र त्यसको पालना गर्नेहरूले सजाय पाएका छैनन् । उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकिएको छैन । यसलाई हामी उच्च महत्व दिन्छौं ।”

सन् २००८ मा लश्कर–ए–तैयबाका १० आतङ्ककारीले मुम्बईमा १२ स्थलमा संयुक्त रूपमा गोली प्रहार र बम आक्रमण गरेका थिए । घटनामा कम्तीमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए ।

गत महिना भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् (यूएनएससी) को दुई दिने आतङ्कवाद विरोधी बैठक आयोजना गरेको थियो, जुन भारतको आतङ्कवाद विरोधी समिति (सीटीसी) को अध्यक्षतामा थियो ।

बैठकपछि, दिल्लीमा एउटा घोषणापत्र जारी गरिएको थियो जसमा आतङ्कवादीहरूलाई सुरक्षित आश्रय स्थलहरूमा प्रवेश गर्ने अवसरलाई एक महत्वपूर्ण चिन्ताको विषयका रूपमा हेरिएको र सबै सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको लडाइँमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो ।

घोषणापत्रमा सबै प्रकारका र अभिव्यक्तिमा आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको पनि स्वीकार गरिएको छ । यूएनएससीको विशेष बैठकमा जयशंकरले विशेष गरी एशिया र अफ्रिकालगायतका स्थानमा आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेको बताएको थियो ।

‘मानवताको लागि सबैभन्दा गम्भीर खतरा’ सँग जुध्न सुरक्षा परिषद्को सर्वोत्तम प्रयासको बावजुद आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेकोबारे उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । रासस

 

 

सम्बन्धित खबरहरु