काठमाडौं । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् ।

पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चार जना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् । केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।

पाँच लाख सुडानीलाई थप सहायता आवश्यक’
संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा आगामी वर्ष थप पाँच लाख नागरिकलाई मानवीय एवम् सुरक्षा सेवा आवश्यक पर्ने बताएको छ ।

दक्षिण सुडानको मानवीय आवश्यकतासम्बन्धी राष्ट्रसङ्घले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा एक करोड २४ लाख जनसङ्ख्या रहेको सुडानका एक तिहाइ नागरिकले गम्भीर खाद्य असुरक्षा सामना गरिरहेका जनाइएको छ । प्रतिवेदनमा हिंसा र द्वन्द्वले देशको मानवीय अवस्था बिग्रिएको देखाइएको छ ।

स्वास्थ्य चुनौती, खडेरी, जलवायु परिवर्तनका असरका कारण सुडानीलाई मानवीय सहयोग अपरिहार्य भएकोमा प्रतिवेदनले जोड दिएको छ । अपर नाइल र इक्वेटोरिया राज्यमा सर्वाधिक सहायता आवश्यक परेको छ ।

मानवीय सहायताको आवश्यकतालाई घटाउन देशमा शान्ति सुव्यवस्थाका साथै विकासलाई केन्द्रीय प्राथमिकतामा राख्न सरकारलाइ आग्रह गर्दै प्रतिवेदनमा सन् २०१८ मा भएको शान्ति सम्झौतालाई जोखिममा पार्ने कुनै किसिमका गतिविधि हुन नहुनेमा जोड दिइएको छ । हिंसाले समस्याको समाधान नहुने भएकाले सम्बद्ध पक्षलाई शान्तिको मार्ग अपनाउन उक्त विश्वसंस्थाले अपील पनि गरेको छ । रासस

सम्बन्धित खबरहरु