काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको बताउनु भएको छ ।

उहाँले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने पनि बताउनुभयो ।

आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनीकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभएको छ ।

झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका ओली तीनदिनदेखि गृह जिल्ला झापामा विजय उत्सव तथा र्‍यालीमा व्यस्त हुनुहुन्छ ।

लेनदेन तथा सट्टेबाजीमा लागेर सरकार बनाउने खेलमा नलाग्ने कुरा नेता ओलीले स्पष्ट गर्नुभयो । कसै न कसैले संयुक्त सरकार बनाउनैपर्ने भए पनि आफूहरु धेरै उत्साहित नभएको ओलीको भनाई छ ।

सरकार बनाउनका लागि कसैसँग आफूले छलफल र प्रयास नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

देशलाई असफल बनाउने प्रयास र खेलहरु भइरहेको भन्दै त्यसलाई निस्तेज पार्ने विषयमा एमाले केन्द्रित हुने पनि उहाँको भनाई छ ।

अध्यक्ष ओलीका अनुसार राष्ट्रिय राजनीति भाँडिएको छ । एमाले मुलुकमा अस्थिरता नआओस् भनेर सचेत छ ।

तत्काल पुन: निर्वाचन नहोस् भन्ने कुरा उल्लेख गर्दै ओलीले सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको आशङ्का व्यक्त गर्नुभयो । तत्काल मुलुकलाई पुन: निर्वाचनमा नलैजानका लागि एमालेले सक्दो कोशिस गर्नेछ ।

सम्बन्धित खबरहरु