काठमाडौं । विवादित र बुथ कब्जा भएको पुष्टि भएपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको छ । दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने भएको हो ।

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गर्नुभएको थियो ।

त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको छ ।

सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गर्नुभएको थियो ।

आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको छ । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूची भने सार्वजनिक गरेको छैन ।

दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा हुनुहुन्छ ।

 

सम्बन्धित खबरहरु