काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू काठमाडौबाट उम्मेदवार बनेको भए पराजित हुने स्वीकार गर्नुभएको छ ।

रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतबार कार्यकर्ताबाट बधाई थाप्दै उहाँले भन्नुभयो धन्न, रौतहट गएछु नत्र मलाई नै उछिट्याउने रहेछन् ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उहाँलाई बधाई दिएका थिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराउनुभयो ।

नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गर्नुभयो । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ कार्यकर्तामाझ नेपालले भन्नुभयो, ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

२०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित हुनुभएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट जानुभएको थियो । स्थानीय तह निर्वाचनमा उहाँको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोज्नुभएको थियो ।

सम्बन्धित खबरहरु