काठमाडौं । एक महिलाले दुनियाँलाई मूर्ख बनाएर ठूलो रकम कमाइ गरेकी छिन् । आफ्नी छोरीलाई लाई अन्तिम स्टेजको क्यान्सर भएको भन्दै उनले लाखौं रकम लुटेकी हुन् ।

छोरीको जीवनमा केही महिना मात्र बाँकी छ, उपचारमा सहयोग गर्नुहोस् भनेर उनले सार्वजनिक अपिल गरेकी थिइन् । ती महिलाले छोरीको उपचारका लागि पैसा जम्मा गर्न विश्वभरबाट सहयोग माग्न थालिन् ।

बिरामीको नाममा किर्ते गरेर उनले झण्डै ११ लाख ३० हजार रुपैयाँ उठाइन् । छोरीलाई सहयोग गर्नुहोस् भन्दै विभिन्न कार्यक्रम पनि आयोजना गर्थिन् । तर केही समयपछि लिन्डसे अब्बुहल नामकी यी महिलाको पर्दाफास भयो । लिन्डसेलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले ३५ वर्षीया लिन्डसेलाई अपराध र बालबालिकासँग चोरीको मुद्दामा उक्त जेल सजाय सुनाएको हो ।

लिन्डसे अमेरिकाको ओहायो निवासी हुन् । लिन्डसेले ११ वर्षीया छोरी रिलेको क्यान्सरको उपचारका नाममा गोफन्डमी पृष्ठमा क्राउडफन्ड गरेकी थिइन् । त्यहीँ पेजमा उनले छोरी रिलेको बारेमा गलत जानकारी दिँदै सहयोग रकम माग्ने गरेकी थिइन् ।

छोरी मर्न लागेको र औषधिको लागि पैसा चाहिएको तर आफूसँग नभएको भन्दै उनले बहाना बनाइन् । मानिसहरूले पनि लिन्डसेको कुरा पत्याए । गोफन्डमीमा मात्रै उनले झण्डै ६ लाख ५० हजार जम्मा गर्न सफल भएकी थिइन् ।

आमा र बिरामी छोरीलाई सफ्टबल खेलमा प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिन्थ्यो । त्यहीँ क्रममा दुवैलाई ‘सी–वर्ल्ड पार्क’ जान निस्शुल्क टिकट पनि दिइयो । अति नै भएपछि यस विषयमा रिलेका बुबा जेमी अबुहलले मुख खोलेका हुन् । सबै कुरा बाहिर आएपछि अदालतले लिन्डसेलाई हिरासतमा लिन आदेश दियो ।

जेमी र लिन्डसेले २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए । अदालतले लिन्डसेलाई ६ वर्षको जेल सजायका साथै मान्छेहरूसँग उठाएको ११ लाख रुपैयाँ भन्दा धेरै रकम फिर्ता गर्न आदेश जारी गरेको छ ।

डेली मेलका अनुसार एक पटक लिन्डसेले आफूलाई ब्रेन ट्युमर भएको कुरा पनि सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनले धेरै परिवारसँग छोरीलाई धर्मपुत्रीका रूपमा पाल्न अनुरोध समेत गरेको खुलेको छ ।

 

सम्बन्धित खबरहरु