मेरिल सेबास्टियन, बीबीसी । ‘हामी स्वतन्त्र छौं, हामी हाम्रा सपनाहरू बाँच्न सक्छौं ।’ फातिमा नूरा र अदिला नसरीनको खुसी यहीँ एउटा भनाइबाट बुझ्न सकिन्छ ।

केरलाका यी समलिङ्गी जोडी ( lesbian marriage ) यस वर्षको सुरुदेखि नै चर्चामा छन्, जब केरलाको एक अदालतले दुई महिलालाई फेरि सँगै बस्न अनुमति दियो । नूरा र अदिलाका परिवारका सदस्यले जबरजस्ती दुवैलाई अलग गरेका थिए ।

परिवारको विरोधपछि नूरा र अदिला अदालत पुगे र निवेदनमार्फत सँगै बस्न दिन आग्रह गरे । गत महिना, यो जोडी फेरि चर्चामा आयो, जब दुबैले आफ्नो विवाहको फोटोसुट दुलहीको पोशाकमा गराएका छन् ।

खैरो र नीलो लेहेंगा र चाँदीको गहनामा सजिएका, नूरा र अदिलाले फोटोसुटको क्रममा रातो गुलाफको औँठी र माला साटासाट गरे । २३ वर्षीया नूराले आफ्नो फेसबुक पेजमा विवाहका तस्बिर पोस्ट गरेपछि बधाईको वर्षा आउन थाल्यो । नूराले फोटो एल्बमलाई अंग्रेजीमा आकर्षक क्याप्सन दिएकी छिन्, जसको अर्थ ‘जीवनको ठूलो उपलब्धि हासिल भयो–अब सधैंभरि सँगै’ भन्ने हुन्छ ।

अब बिहेको सपना पूरा हुन्छ
बीबीसीसँग फोनमा कुराकानी गर्दै अदिलाले भनिन्, ‘हामीलाई यो आइडिया निकै रोचक लागेपछि विवाहको फोटोसुट गरेका थियौं ।’ नूरा र अदिलाभन्दा पहिले पनि समलिङ्गी समुदायका धेरै जोडीले यस्तो फोटोसुट गरिसकेका छन् । अदिलाले भनिन्, ‘हामीले अहिलेसम्म बिहे गरेका छैनौं, तर एक समयमा हामी यो गर्न चाहन्छौं ।’

भारतमा समलिङ्गी जोडीहरूले २०१८ देखि सँगै बस्नको लागि स्वतन्त्रता पाए, जब सर्वोच्च अदालतले एक ऐतिहासिक निर्णयमा समलिङ्गी सम्बन्धलाई अपराधमुक्त गर्यो । यसअघि भारतमा समलिङ्गी सम्बन्धलाई अपराधको श्रेणीमा राखिएको थियो । यस प्रावधानको विरुद्धमा, एलजीबीटीक्यू प्लस समुदायले एक दशकभन्दा बढी लामो कानुनी लडाइँ लड्नुपर्यो । सर्वोच्च अदालतको यो आदेशपछिका वर्षहरूमा समलिङ्गी समुदायप्रति सचेतता अवश्य बढेको छ ।

तर, भारतीय समाज यस्ता सम्बन्धलाई स्वीकार गर्न अझै सहज छैन् । यद्यपि भारतमा समलिङ्गी विवाहमा कुनै कानुनी प्रतिबन्ध छैन । तर यसलाई कानुनी मान्यता दिलाउन दिल्ली उच्च अदालत र सर्वोच्च अदालतमा धेरै याचिकाहरू परेका छन्, जसमा फैसला आउन बाँकी छ । नूरा र अदिलाले केरला उच्च अदालतबाट सँगै बस्ने अनुमति पाएका छन् ।

तर आज पनि उनीहरुलाई अन्य विवाहित जोडीहरु जस्तै बाँच्ने स्वतन्त्रता र सुविधा छैन । आदिला भन्छिन्, ‘फारम भर्दा पति वा पत्नीको नाम सोधिन्छ । म जहाँ काम गर्छु, आज पनि बुबाको नाम प्रयोग गर्नुपर्छ । भर्खर हामी दुबैजना अस्पताल गएका थियौं, त्यहाँ हामीले बुबाको नाम दर्ता गराउनु परेको थियो । यो धेरै निराशाजनक छ । यो कुरा झनै कठिन बन्दै गएको छ, किनभने यस्ता समलिङ्गी जोडीको आफ्नो परिवारसँगको सम्बन्ध पहिलेको जस्तो सामान्य हुँदैन ।’

कानुनी अधिकार पायो, परिवार समाज अझै आक्रोशित
यसरी यी दुई महिला हुर्केका परिवार र समाजले समलिङ्गी सम्बन्ध सार्वजनिक भएपछि आफ्नो समर्थन फिर्ता लियो । अहिले दुवै जना मात्रै एकअर्काको सहयोगी बनेका छन् । भारतमा ‘भानाजा कलेक्टिभ’ जस्तो एलजिबिटीक्यू प्लस समूह पनि छ, जसको सहयोगमा नूरा र अदिला जस्ता जोडी सँगै बस्न सफल छन् ।

नूरा र अदिला हाईस्कुल पढ्दा एक अर्काको नजिक आएका थिए । स्कुल छोडेपछि दुवै तीन वर्ष अलग बसे । त्यस क्रममा उनीहरू आफ्नो परिवारसँग केरलाका विभिन्न जिल्लामा बस्दै आएका थिए । त्यस क्रममा उनीहरु दुवै कलेजको पढाइ पूरा गर्दै बेलाबेलामा फोन वा म्यासेजबाट सम्पर्कमा आउँथे । त्यस क्रममा उनीहरूले आफूलाई समर्थन गर्ने समूह फेला पारे । त्यो समूहले दुर्वलाई, ‘पहिले पढाइ पूरा गरेर जागिर गर’ भन्यो ।

अहिले नूरा र अदिलाले पनि अन्य समलिङ्गी जोडीहरूलाई यो सल्लाह दिन्छन्, जो उनीहरूको मद्दत खोज्दै आउँछन् । अदिलाका अनुसार उनीहरूलाई आफ्नो रूढीवादी परिवारबाट अलग रहन सजिलो छैन । उनी भन्छिन्, ‘हाम्रो समुदायका धेरै मानिसको शैक्षिक पृष्ठभूमि राम्रो छैन ।

जब हामी उनीहरूलाई जागिर खोज्न मद्दत गर्न अगाडि आउँछौं, उनीहरूको शैक्षिक योग्यता कम भएकाले गाह्रो हुन्छ ।’ त्यसैले समलिङ्गी जोडीहरूको लागि काम गर्ने समर्थन समूहहरू पहिले आर्थिक रूपमा स्वतन्त्र हुन अनुरोध गर्छन् । नूरा भन्छिन्, ‘आफ्नो शर्तमा बाँच्नको लागि जागिर धेरै महत्त्वपूर्ण हुन्छ । यदि तपाईं आर्थिक रूपमा सुरक्षित हुनुहुन्छ भने, तपाईंले अरूको दयामा बाँच्नु पर्दैन ।’

नूरा र अदिला दुवै आर्थिक रूपमा आत्मनिर्भर छन् । अदालतको फैसलापछि उनीहरूले पाएको स्वतन्त्रताले दुवैलाई विगतका तीतो अनुभवहरू बिर्सेर अगाडि बढ्न मद्दत गरेको छ । त्यसको झलक सामाजिक सञ्जालमा सार्वजनिक भएका उनीहरूका तस्बिरबाट स्पष्ट हुन्छ ।

वास्तविक जीवनदेखि सामाजिक सञ्जालमा पहिले भन्दा धेरै खुले
एक समय थियो जब यस्ता समलिङ्गी जोडीले एकअर्काको हात समातेको वा टाउको जोडेको तस्बिर सार्वजनिक गर्थे । तर अहिले अन्य जोडीहरूले जस्तै तस्बिर सार्वजनिक गर्न सक्षम छन् । उनीहरू इन्स्टाग्राम रीलहरूदेखि साथीहरूसँग पिकनिक र पाल्तु कुकुरहरू सँगै देखिन्छन् ।

नूरा भन्छिन्, ‘अहिले हामीले परिवर्तन गर्नुपर्ने केही छैन, तीतो अनुभवको युगबाट बाहिर आएका मात्रै हो ।’ नूरा र अदिला दुवै जना जनताबाट पाएको समर्थनबाट उत्साहित छन् । उनका धेरै अन्तर्वार्ताहरू प्रसिद्ध महिला पत्रिकाहरूमा प्रकाशित भएका छन् ।

दुवैको कथालाई धेरै टिभी कार्यक्रमहरूमा पनि देखाइएको छ । अदिला भन्छिन्, ‘आज हामी मास्क र चश्मा लगाएर बाहिर निस्किए पनि मानिसहरूले हामीलाई चिन्छन् ।’ नूरा र अदिलाका अनुसार परिवार, उनीहरुको सम्बन्ध छिट्टै टुट्ने कुरामा विश्वास गर्दछ । धेरै व्यक्तिहरूले उनीहरूको सामाजिक सञ्जालमा पनि टिप्पणी गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा विरोध गर्ने भन्दा समर्थन गर्ने धेरै छन् ।

विरोध गर्नेहरूको नजरमा दुवैले समाजमा नराम्रो उदाहरण बसालेका छन्, जसकारण उनीहरू विरोध गर्छन् । दुवैले पुरुषसँग विवाह गर्नुपर्छ । नूरा र अदिलले त्यस्ता प्रतिक्रियाहरू पढ्छन्, केहीलाई जवाफ पनि दिन्छन् । जवाफ दिने शैली एकदमै चर्को छ । हालै एक इन्स्टाग्राम प्रयोगकर्ताले कामुकता चाँडै समाप्त हुने बताएका थिए । किनभने उनले ४० वर्षभन्दा माथिका लेस्बियन जोडी देखेका छैनन् । जवाफमा दुवैले लेखे, ‘तपाईं हामी ४० हुँदासम्म पर्खनुहोस् ।’

 

सम्बन्धित खबरहरु