Susil koiralaकाठमाडौं, २० माघ । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी वार्तामा नबसे प्रक्रियाबाट पछि नहट्ने बताएका छन् । प्रधानमन्त्री कोइरालाले एमाओवादीको शर्त मान्न नसकिने भन्दै वार्तामा नबसे प्रक्रियाबाटै भएपनि संविधान जारी गर्ने बताए ।

रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै उनले भने आफुसँग संविधानसभाले गरेको निर्णय रोक्ने हैसियत नभएको भन्दै वार्ताको ढोका सधैव खुल्ला रहेको बताए । एमाओवादीले जहिले पनि आफूले भएको भएन भने आन्दोलन गर्छु, बन्द गर्छु भनेर धम्की दिएको भन्दै कोइरालाले निशर्त वार्तामा आउन आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले भने, ‘प्रधानमन्त्रीको हैसियतले वार्ताको प्रयास गर्नु मेरो कर्तब्य हो भनेर म प्रचण्डजीको गेट क्रस गरेर गएँ, छलफल गरौं भनें तर, फेरि कन्डिसन राखेर वार्ता सम्भव छैन, मान्न सकिँदैन भन्ने जवाफ आयो ।’

संविधानसभाको एमाओवादीले भनेजस्तो प्रश्नावली बनाउने प्रक्रिया रोक्ने कुरा आफ्नो बसमा नभएको प्रधानमन्त्रीले बताए । दलहरुबीच सहमति नभए प्रक्रियामा जानु लोकतान्त्रिक विधि भएको उनले बताए । नेपालमा विकासको थालनी भएको र नेपाललाई स्वर्ग बनाउँछु भनेर विदेशीहरु लगानीका लागि आएको भन्दै प्रधानमन्त्री कोइरालाले अब संविधानलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

एमाओवादी र मधेसी सहमति नआउँदा अप्ठ्यारो अवस्था आउँला नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा कोइरालाले कांग्रेस–एमालेले गल्ती गरेको हो भनेर जनतालाई सोध्न आग्रह गरे । वाार्ताबाट आफूहरु अहिले विचलित नभएको भन्दै उनले माओवादीलाई प्रश्न गर्दै वार्तामा नबस्ने भए अर्को विकल्प के हो प्रष्ट पार्न भने ।

प्रधानमन्त्री कोइरालाले आफूहरु धेरै लचिलो भएको तर, प्रचण्डले जस लिन खोजेकोआरोप लगाए । कांग्रेस सभापति समेत रहेका कोइरालाले भने, ‘सुरुदेखि नै हेर्नु भो भने सबैभन्दा बढी लचिलो हामी भएका भएका छौं । तर, श्रेय प्रचण्डजीले लिने यो त ठिक भएन ।’

न्याय प्रणाली, निर्वाचन प्रणालीमा आफूहरु लचिलो भएको भन्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र जातीय संघीयता भने मान्न नसकिने बताए ।

सम्बन्धित खबरहरु