Brazil VS Switzerland: काठमाडौं । आज यो विश्वकपकै महत्वपूर्ण खेल ब्राजिल र स्विटजरल्यान्डबीच हुँदैछ । आज रातको ९ः४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ । त्यस्तै समूह ‘एच’ को खेलमा दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बेलुकी ६ः४५ बजेपछि एजुकेशन सिटी रंगशालामा हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्दा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो । समूह चरण पार गर्ने सम्भावना जीवित राख्न दुवै टोलीको जितको खाँचो छ ।

यस विश्वकपमा एसियाली राष्ट्रले सनसनीपूर्ण नतिजा आत्मसात गरिरहेको अवस्थामा दक्षिण कोरिया पनि घानालाई हराउँदै अंक जोड्ने लक्ष्यमा हुनेछ । उरुग्वेसँग बराबरीमा रोकिनुका बावजुत दक्षिण कोरियाले राम्रो खेल पस्केको थियो । सन् १९८६ देखि लगातार १०औं पटक तथा समग्रमा ११औं पटक विश्वकप खेलिरहेको कोरियाको सबैभन्दा ठुलो उपलब्धि २००२ मा सेमिफाइनलमा पुग्ने हो ।

त्यसयताको पछिल्लो दुई संस्करणमा कोरियाले समूह चरण पार गर्न सकेको छैन । ह्युङ मिन सनको कप्तानीमा मैदान उत्रने दक्षिण कोरियासँग किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल, जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, ह्वाङ ही चान, ह्वाङ यी जो र चो ग्वी सुङको साथ रहेको छ ।

ब्राजिललाई स्विटरल्यान्डको चुनौती

ब्राजिल र स्विटरल्यान्डबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

सर्वाधिक ५ पटकको विजेता ब्राजिलले स्विटरल्यान्डलाई पराजित गर्दै लगातार दोस्रो जित हात पार्नुका साथै नकआउट चरणमा प्रवेश गर्न सम्भावना बलियो बनाउने दाउमा छ । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो ।

यता पहिलो खेलमा क्यामरुनलाई १–० ले पराजित गरेको स्विटजरल्यान्ड पनि जितलाई निरन्तरता दिन चाहन्छ । ब्राजिललाई पराजित गरेको खण्डमा स्विटजरल्यान्डको नकआउटमा प्रवेश गर्ने सम्भावना बलियो बन्ने छ ।

 

सम्बन्धित खबरहरु