काठमाडौं । भारत, बिहारमा केही चोरहरूले पूरै मोबाइल टावर चोरेका छन् । उनीहरूले बिस्तारै टावर तोडेर फलाम लिएर हिँड्ने गर्थे ।

अब प्रश्न उठ्छ यति ठूलो टावर चोरी हुँदा किन कसैलाई थाहा भएन ? त्यसको जवाफ थप रोचक छ । उनीहरूले आफूलाई मोबाइल कम्पनीका अधिकारी र कर्मचारी भनेर चिनाएका थिए ।

तीन दिन लगाएर पूरा आत्मविश्वासका साथ उनीहरूले टावर निकालेर ट्रकमा थन्क्याउन सफल भएको बताइन्छ । चोरहरू कम्पनीका मान्छे भए पनि किन यति धेरै मेहनत गरिरहेका छन् भन्ने कुरामा सबैले आशंका गरिरहेका थिए ।

दैनिक भास्करका अनुसार घटना पटना जिल्लाको गार्डनीबाग क्षेत्रको हो । त्यहाँ लल्लन सिंह नामका व्यक्तिको जग्गामा जीटीपीएल कम्पनीको टावर राखिएको थियो । एक दिन १० जना मान्छेहरू आए र आफूलाई टावर कम्पनीको अधिकारी र कर्मचारी भनेर परिचय गराए ।

लल्लन सिंहका छिमेकी मनोज सिंहले दैनिक भास्करलाई भने, ‘कम्पनी घाटामा रहेको र केही दिनमा बन्द हुने भएकाले टावर हटाउनुपर्ने उनीहरुको भनाइ थियो ।’

त्यसपछि जग्गाधनी लल्लन सिंह टावर हटाउन राजी भए । तिनीहरूले सोचे कि जमिन खाली हुनेछ । समाचार अनुसार लगातार तीन दिनसम्म दश जनाले टावरलाई ग्यास कटरले काटेर पिकअप भ्यानमा टुक्रा पारेर लगेका थिए ।

करिब ५० मिटर अग्लो टावर त्यहाँ १५–१६ वर्षअघि जडान गरिएको हो । टावरको लागत ३० लाख रुपैयाँ भन्दा धेरै रहेको छ । स्थानीयले भने, ‘लगतार तीन दिनसम्म, हामी चोरहरूले टावरका टुक्राहरू लिएर जाने बाटोबाट गुज्रथ्यौं, तर हामीले उनीहरूलाई कम्पनीका मान्छे ठान्यौँ, त्यसैले कसैले रोकेनौँ ।’

केही समयअघि तमिलनाडुमा पनि मोबाइल टावर चोरीको यस्तै घटना बाहिर आएको थियो । यसै वर्षको जुलाईमा नक्कली कागजात बोकेर मोबाइल कम्पनीको अधिकारी बनेर तीनजना घटनास्थल पुगेका थिए ।

उनीहरूले मोबाइल टावर तोडेर १० लाख रुपैयाँ भन्दा धेरै लिएर कवाडीमा बेचेका हुन । उनीहरूको साथबाट १० टन फलाम र जेनेरेटर बरामद भएको छ । केही समयअघि बिहारमा चोरहरूले रेलको इन्जिन चोरेका थिए ।

 

सम्बन्धित खबरहरु