काठमाडौं । चोरीको एक अनौठो घटना बाहिर आएको छ । भारत, उत्तर प्रदेश कानपुरमा एक व्यक्तिले आफ्नै साथीको तीन किलो सुन ( Gold ) गायब पारेका छन् ।

सुन चोरेपछि डरले उनी सात दिनसम्म सुत्न सकेनन् । सुन लुकाउन चार राज्यमा यताउता भौतारिरहे । तर उनलाई थाहा थिएन् कि यत्रो सुन के गर्ने, कहाँ बेच्ने ?

घटना कानपुरको जुही क्षेत्रमा बस्ने ऋतिक राज वर्मासँग जोडिएको छ । जानकारी अनुसार चमनगञ्ज क्षेत्रमा बस्ने ऋतिक र नदीम दुवै साथी हुन् । दुवैले विभिन्न बुलियन (बुलियन मण्डी एउटा बजार हो, जसको माध्यमबाट खरिदकर्ता र बिक्रेताहरू सुन र चाँदीका साथै सम्बन्धित डेरिभेटिभहरूमा व्यापार गर्छन्) को काम गर्छन् ।

एक दिन अचानक नदीमलाई पैसा चाहियो । उनीसँग तीन किलो सुन थियो । २३ नोभेम्बरमा, नदीमले तीन किलो सुन धितो राख्ने निर्णय गरे । त्यहीँ क्रममा उनको साथी ऋतिकसँग भेट भयो । नदीमले ऋतिकसँग आफू सुन धितो राख्न आएको भन्दै जानकारी गराए ।

साथीको कुरा सुनेर ऋतिकले बिरहान रोडका एक साहुसँग आफ्नो चिनजान भएको कुरा बताउँछन् । उनका अनुसार त्यो साहू विश्वासयोग्य मान्छे हो । ऋतिकले नदीमलाई उनको सुन धितो राख्न मद्दत गर्ने बताए ।

उनले नदीमलाई सुनको सट्टा ९० प्रतिशत रकम पाउने सपना पनि देखाएका थिए । त्यसपछि ऋतिक तीन किलो सुन लिएर बिरहान रोड पुगे । नदीम त्यहीँ चिया पसलमा बसिरहेका थिए । एक घण्टा कुर्दा पनि ऋतिक आएनन्, त्यसपछि नदीमलाई शंका लाग्यो । नदीम साथी खोज्न थाले ।

खोजी गर्दा ऋतिक तीन किलो सुन लिएर भागेको कुरा पत्ता लाग्यो । ऋतिकले आफ्नो मोबाइल पनि स्वीच अफ गरेका थिए । यो कुरा थाहा पाउने बित्तिकै नदीमले फिलखाना प्रहरी चौकी ऋतिकविरुद्ध चोरीको उजुरी दर्ता गराए । त्यसपछि प्रहरीले आरोपीको खोजी सुरु गर्यो ।

चोर पक्राउ परेपछि उनलाई लिएर एक रोचक खुलासा पनि भयो । अनुसन्धानमा प्रहरीले सुनको सुरक्षाका लागि ऋतिक सात दिनसम्म नसुतेको पत्ता लगायो । ऋतिकले सुन बेच्नका लागि करिब ३२०० किलोमिटर यात्रा गर्नुपरेको थियो तर पनि सुन बिक्न सकेन् ।

प्रहरी स्रोतका अनुसार ऋतिक पहिले सुन लिएर प्रयागराज गए, होटलमा बसे । उनी सुन बेच्न चाहान्थे । त्यसपछि उनी लखनउ, दिल्ली, सूरत र रतलामसम्म पनि धाएको देखियो । तर डरका कारण उनले सुन बेच्न सकेनन् । अन्तत: थकित भएर रतलामबाट कानपुर नै फर्किए ।

कानपुरको फीलखाना प्रहरीले ऋतिकको लोकेशन ट्र्याक गरेर उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनसहित भारु २५ लाख नगद पनि बरामद भएको छ । तर ऋतिकले २५ लाख नगद आफ्नो भएको बयान दिएका छन् ।

 

सम्बन्धित खबरहरु