काठमाडौं । प्रदेश–१ राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । टियु क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग पराजित हुँदै प्रदेश–१ बाहिरिएको हो ।

लुम्बिनीले लगातार चौंथो जित निकाल्ने क्रममा प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे ।

प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुषाल ८ रनमा अविजित रहे । प्रदेश–१ का लागि कप्तान दिपेश कडेलले ३ तथा विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनाएको थियो ।

प्रदेश–१ का लागि शुभम गहतराजले २२ तथा स्टाईन रिजालले १९ रन बनाए । प्रदेश–१ का अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । पाँचौ खेलमा पहिलो जित हात पार्ने क्रममा गण्डकीले कर्णाली प्रदेशलाई १ सय ९ रनले पराजित गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले जितका लागि दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुदै १ सय २५ रनमा समेटियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

सम्बन्धित खबरहरु