काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व भएको बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा समुद्घाटन समाराहोमा आज उहाँले राष्ट्रिय सम्पदालाई अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सबै निकाय लाग्नुपर्नेमा जोड दिनुभयो । कला, संस्कृतिको अध्ययन, अनुसन्धान र अन्वेषणमा कम खर्च रहेकाले अब बजेटको कम्तीमा पनि तीन प्रतिशत यस क्षेत्रको अध्ययन, अनुसन्धान र अन्वेषणमा खर्च गर्ने गरी व्यवस्था गर्न लागिएको सदस्य फुयाँलले जानकारी गराउनुभयो ।

विगत वर्षमा कोरोना महामारीका कारण पनि यस क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्नुहुँदै उहाँले सांस्कृतिक क्षेत्रको विकासमा ठूलो बजेट चाहिने आवश्यकता महसुस गरिदिन सरकार तयार रहेको बताउनुभयो । स्रष्टाको अनुभव र ज्ञानलाई पूँजीकृत गर्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । नेपाली मौलिक सभ्यताको पहिचान प्रवद्र्धनका लागि पनि अब कार्यक्रम बनाइने आयोगका सदस्य फुयाँलले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले आधुनिक कला ग्यालरीको स्थापना गर्न लागिएको जानकारी दिनुभयो । नक्सालस्थित सीताभवन दरबारको नौ रोपनी चार आना तीन पैसा तीन दाम जग्गामा अत्याधुनिक ग्यालरी बनाउन लागिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय विभूति अरनिकोको १७ फिट अग्लो पूर्ण कदको सालिक निर्माणका लागि बजेट अभाव भएर ७५ प्रतिशत काम सकिएर रोकिएको पनि कुलपति कर्माचार्यले जानकारी गराउनुभयो । भूकम्पले क्षतिग्रस्त भवनको पुनःनिर्माण नसकिनु, कार्यालयमा आवश्यक मात्रामा कर्मचारी अभाव हुनु, प्रतिष्ठानका नियमावली समसामयिक संशोधन नहुनुजस्ता कारणले काममा प्रभाव परेको उहाँको भनाइ थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले साहित्य र कलामा भेद नभएको बताउनुभयो । प्रतिष्ठानका क्रियाकलापमा विज्ञान तथा प्रविधिलाई पनि मिसाउनुपर्ने धारणा उहाँले राख्नुभयो । प्रज्ञा प्रतिष्ठानले पनि चालु आर्थिक वर्षमा धेरै पुस्तक प्रकाशन गरेको उल्लेख गर्नुहुँदै कुलपति गुरुङले प्रतिष्ठानले आजैदेखि ती पुस्तकको प्रदर्शनी सुरु गरेको जानकारी दिनुभयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले यस क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको प्रतिष्ठानले प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्रीलाई चार वर्षपछि मात्र कार्यक्रममा पाएकामा खुसी व्यक्त गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नाटक, नृत्य र वादन पनि ललितकला नै भएकाले ललितकला प्रज्ञा प्रतिष्ठानको छिमेकी बनेको बताउनुभयो । अचल सम्पत्तिलाई उपयोग गरेर आंशिकरूपमा भए पनि आत्मनिर्भर बन्न तीन वटै प्रतिष्ठान लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । आत्मनिर्भर भएपछि ऐनअनुसार स्वायत्त पनि भइने उपकुलपति शर्माको भनाइ थियो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले आर्थिक वर्ष २०७८÷२०७९ मा चालुतर्फ ९९.०८, पूँजीगततर्फ ८७.५६ र कार्यक्रमतर्फ ९९.३६ प्रतिशत गरी कुल ९७.२२ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । भूकम्पपछि प्रि–फ्याब भवनमा बसेर कार्यालय सञ्चालन गर्नुपर्दा केही कठिनाइ भएको उहाँले सुनाउभयो । रासस

 

 

सम्बन्धित खबरहरु