काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुस्किल थप बढ्ने देखिएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित समेत भएका सभापति लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान थालेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएपछि अनुसन्धान सुरू गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले यसको पुष्टि गर्नुभयो । प्रशासनबाट पत्र आएको भन्दै उहाँले भन्नुभयो, ‘छानबिनको प्रक्रिया अघि बढेको छ ।’

लामिछानेमाथि अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप लाग्दै आएको छ ।

लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य पनि बाहिर आएको थियो । आरोप अनुसार लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गर्दै आउनु भएको छ ।

उहाँले अमेरिकी नागरिकता लिँदा पनि नेपाली नागरिकता नत्यागेको देखिएको हो । विदेशी नागरिकता लिने वित्तिकै नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । विदेशी नागरिकता लिने भएपछि आफैले नागरिकता त्याग्नुपर्छ ।

सम्बन्धित खबरहरु