मंसिर १७, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।

जापानिज युनिभर्सिटिज् आल्मुनाइ एशोशिएसन नेपाल (जुवान) द्वारा शनिबार ललितपुरमा आयोजित ‘जापान : विगत, वर्तमान र भविष्य विषयक एक दिने सेमिनारमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष तिमिल्सिनाले, नेपालमा लामो संघर्षपछि प्राप्त उपलब्धि माथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको संकेत देखिएको बताउनुभयो। ‘मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आएको नतिजा सुखद छ त?,’ उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प हुँदैन। स्वतन्त्र प्रतिको आकर्षण बढ्नु राम्रो संकेत होइन।‘

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समुदायको पनि भएको बताउँदै भन्नुभयो, ‘सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला।दलप्रति वितृष्णा बढ्नु राम्रो होइन।‘

अहिलेको निर्वाचनमा पनि अधिकांश पुरानै नेता दोहोरिएर निर्वाचित भएकाले सरकारको नेतृत्व पनि उनीहरुले नै गर्ने देखिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘अब बन्ने सरकार पनि नयाँ हुने देखिँदैन। एउटै व्यक्ति बारम्बार किन प्रधानमन्त्री बन्ने? यो गम्भीर विषय छ, उहाँले भन्नुभयो, ‘यो चुनावले केही ठाउँमा नयाँ सांसद त छानेको छ। तर, उनीहरुले अहिलेको नेतृत्व परिवर्तन गर्न सक्छन् कि सक्दैनन्?’

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जापानमा उच्च शिक्षा हासिल गरेर नेपाल आउनुभएका सबैलाई उच्च सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले नेपालमा हालै सम्पन्न निर्वाचनलाई निष्पक्ष हुनुपर्छ र लोकतान्त्र बालियो हुनुपर्छ भनेर जापानले देखाएको शुभेच्छाप्रति धन्यवाद व्यक्त गर्नुभयो। त्यसैगरी नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोगका लागि उहाँले आभार व्यक्त गर्नुभयो।

अध्यक्ष तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धि बारे सिक्ने कुरा धेरै भएको बताउनुभयो।

सम्बन्धित खबरहरु