जनकपुरधाम । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो ।

दुलाहा र जन्ती टोली कार, जिप र भ्यान गरी २० वटा गाडीमा गएको थियो । स्वयंवर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्कियो । अरु गाडी विवाह सकिएपछि फर्किने भन्दै विवाहस्थलमै रह्यो ।

घर फर्किएकोमध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे वीरेन्द्रबजारमा दुर्घटनामा पर्‍यो । जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै ५ जनाको मृत्यु भयो भने ९ जना घाइते भएका छन् । जसमा ४ जना बेहुलाका आफन्त र एक जना गाडी चालक रहेका छन् ।

यो दुर्घटनाले बेहुली फर्किन नपाउँदै विवाह उत्सव शोकमा परिणत भएको छ । परिवारजनहरु शोकमा डुबेका छन् । विवाह घरमा सन्नाटा छाएको छ । ‘दुलही पनि भित्र्याउन पाएको छैन । दुर्घटनाले हाम्रो परिवारमा अकल्पनीय क्षति भएको छ । परिवार गाउँ आफन्त सबै शोकमग्न भयो’ दुलाहाका काका देवु साहले भन्नुभयो ।

घाइतेहरुको उपचार भइरहेको प्रादेशिक अस्पताल जनकपुरमा आफन्तहरुको रुवाबासी छ । ‘कहाँ छ मेरो नाति ? कहाँ छिन् मेरी छोरी ?‘’ महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाकी ६४ वर्षीया शोभा साह विलाप गरिरहनुहुन्छ ।

शोभा छोरी र नातिनीलाई हेर्न चाहानुहुन्थ्यो । साथमा रहेका आफन्त उहाँलाई रोक्थे, सान्त्वना दिन्थे । छोरा नाति सकुशल छन्, उपचार हुँदैछ भनेर ।

जन्ती बोकेको भ्यान दुर्घटनामा हुँदा शोभाकी ३५ वर्षीया छोरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाहीकी रुवीकुमारी साह र नाति ११ वर्षीय यशकुमार साहको मृत्यु भएको थियो । यशकुमार शोभाका छोरा रुपेशका छोरा हुन् । दिदी रुवी र छोरा यशकुमारको मृत्युले रुपेश गम्भीर पीडामा छन् । उहाँकी श्रीमती प्रियंका सवारी दुर्घटनामा घाइते हुनुहुन्छ ।

रामगोपालपुर नगरपालिका–७ सहसौलाका जीवछ साहले पनि आफूलाई सम्हाल्न सक्नुभएको छैन । उहाँका छोरीहरु १३ वर्षीया सिर्जना र १८ वर्षीया मञ्जुको सोही दुर्घटनामा मृत्यु भएको छ । चार सन्तानका बुबा जीवछको मञ्जु माहिली र सिर्जना कान्छी छोरी हुन् । दुर्घटनामा विंगर चालक धनुषाको धनौजी गाउँपालिका ४ अब्दुल मन्सुरको मृत्यु भएको छ ।

घाइते ९ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह ४ र ५ वर्षीय प्रतिका साह रहेका छन् । अनलाइन खबरबाट साभार

सम्बन्धित खबरहरु