काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।

हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

दोमुखामा थपिँदै पूर्वाधार ः पर्यटकको आकर्षण बढ्दो
झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न थालेको छ ।

प्रदेश १ को प्रमुखमध्येको पर्यटकीय गन्तव्य रहेको यस स्थानमा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा परेको छ । दोमुखा पर्यटन विकास समितिका अनुसार हिउँदयाम सुरु भएसँगै यहाँ दर्जनौँ वनभोज टोली आउने गरेका छन् । समितिका उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार वनभोजको सिजनमा यहाँ दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।

पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट यहाँ विनियोजन गरेको छ । नगरप्रमुख रोशन थोप्राका अनुसार दोमुखालाई नै लक्षित गरी रु छ करोड विनियोजन गरिएको छ । सोमध्ये रु पाँच करोडको लागतमा करिब तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ । पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलोमिटर नौ सय मिटर सडक कालोपत्रे हुँदैछ । यसका लागि रु पाँच करोड छुट्याइएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती भारतका पर्यटकसमेत थप आउने अपेक्षा गरिएको छ ।

दोमुखा पर्यटकीय क्षेत्रमा वालउद्यान र सङ्ग्रहालयसमेत निर्माणाधीन छ । निर्माणाधीन वाल उद्योगनका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले रु ४५ लाख छुट्याएको छ ।

यसैगरी दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक सङ्ग्रहालयसमेत बनिरहेको छ । सोही सङ्ग्रहालयका लागि थप रु १० लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । कन्काई नदीबाट नहर सुरुआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन भएका छन् । यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन् । रासस

 

 

सम्बन्धित खबरहरु