काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावका बेला असमझदारी भएको कुरालाई स्वीकार गर्नुभएको छ । तर त्यसले गठबन्धनलाई कुनै असर नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष दाहाल नै प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ ।

यसबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले त्यस्तो आकांक्षी भन्ने केही पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संविधानको रक्षाका लागि सँगै लडेको हो । यहाँसम्म सँगै आएका छौं । अगाडि पनि गठबन्धन सँगै अगाडि बढाउने हो ।’

दुई–चार दिनमा निर्वाचन आयोगले अन्तिम नतिजा दिएर राष्ट्रपति कहाँ पठाउने उहाँको विश्वास छ । त्यसपछि स्वत: सरकार निर्माणको विषय अघि बढ्छ । गठबन्धन आउँदा दिनहरूमा पनि कायम रहने कुरामा उहाँ ढुक्क हुनुहुन्छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन ।’ अगाडि कसरी जाने भन्नेबारे खासै समस्या नभएको भन्दै उहाँले सबै कुरा सहमतिमा टुंगो लगाउने जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु