काठमाडौं । बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो ।

१५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो । आइतबार खप्तड पुग्नुभएका उहाँहरू दुई दिन नबस्दै फर्किनुभयो । सोमबारको साँझ डोटीको झिग्रानामा उहाँहरू बास बस्नुभयो ।

खप्तड घुम्ने समय छुट्याएको टोलीले डोटीको शैलेश्वरी हुँदै डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी, कैलालीको घोडाघोडी ताल हुँदै बर्दियाको ठाकुरद्वारा गएर बिदाको समय सक्नुभयो ।

खप्तडमा साता दिननै योजना बनाएर आउनुभएका उहाँहरूले खाने, बस्ने समस्या भएको भन्दै बसाइ छोट्याउनुभयो । “सामाजिक सञ्जालमा खप्तडबारे धेरै नै जानकारी लिएका थियौँ”, पौडेलले भन्नुभयो, “तस्बिर तथा भिडियोमा खप्तडका सुन्दर फाँटहरू, ढकमक्कै ढाकेका सल्लादेखि समग्र खप्तडको सुन्दरता देखेर २ वर्षअगाडि नै खप्तड जाने सोच बनाएका थियौँ । सबैको समय भने यो पटक मात्रै मिल्यो ।”

पौडेलका अनुसार खप्तड प्रकृतिले दिएको सुन्दरताबाहेक अन्य सुविधाको कमी छ । “खप्तड सोचेभन्दा सुन्दर छ, तर टिक्न भने एकै दिन पनि मुस्किल हुन्छ । खप्तडको सुन्दरता हेरेर चिसो तथा भोकमा टिक्न सकिँदैन”, उहाँले भन्नुभयो ।

खप्तड पुगेपछि पौडेलको टोलीलाई बास पाउनै हम्मेहम्मे भयो । “खप्तड पर्यटन क्षेत्र विकास समितिले बनाएको भवनमा २०÷२५ जना मात्रै अटाउने रहेछन्”, उहाँले भन्नुभयो, “बाँकी बस्नलाई ठाउँ नै छैन । चिसो बढ्दै गयो । हामी त फर्किने सोचमा थियौँ । पछि पसलवालाले नेपाली सेनासँग आग्रह गरेर उहाँको पाहुना घरमा बस्यौँ ।”

मोरङका राजनारायण चौधरीको टोली दसैँ र तिहारको बीचमा खप्तड घुम्न आयो । ६ जनाको टोली लिएर आउनुभएका चौधरीलाई खप्तड पुगेपछि लेक लाग्न सुरु भयो । टोलीका अन्य सदस्यले बोकेको औषधिले साँझ ब्यारेक पुग्नुभयो र थप उपचार नेपाली सेनाले ब्यारेकमै गरिदियो । “खप्तड पुग्न बाटोमा पनि निकै समस्या भयो,” उहाँले भन्नुभयो, “ब्यारेक पुगेर भोलिपल्ट सहश्रलिङ्ग जाँदा बाटोमै चार घण्टा अलमलमा प¥यौँ । सिधा बाटो नभएर अन्तै मोडिएछ । साँझ मात्रै होटल पुग्यौँ । सरकारले बाटो राम्रो बनाएको भए त्यस्तो समस्या हुने थिएन ।”

चौधरीका अनुसार खप्तडमा राज्यको पर्याप्त लगानी गर्ने हो भने हजारौँको सङ्ख्यामा पर्यटक आउँछन् । “ हामी पुगेको साँझ पनि त्यसै दिन खाली भएको कोठा भेटियो । पछि आउनेहरू त ८ बजेसम्म पनि कोठा खोज्दै थिए । सरकारले खाने, बस्ने व्यवस्था मात्रै गरिदिए हुन्थ्यो”, उहाँले भन्नुभयो ।

मोरङका रूपेश केसीको टोली पनि तिहारको दोस्रो दिन खप्तड पुग्यो । समाचार पढेकै आधारमा खप्तड पुग्नुभएका उहाँहरू खप्तडमा दैनिक २ घण्टा ध्यान गर्ने तयारीका साथ आउनुभएको थियो । “स्वर्गजस्तो ठाउँमा ध्यान गर्न पाए बडो आनन्द आउँछ भन्ने सोचले खप्तड आइयो । यता खाना, बस्नैको समस्या रहेछ”, उहाँले भन्नुभयो ।

भोलिपल्टै बझाङ हुँदै तराई झरेको उहाँले सुनाउनुभयो । “सरकारले लगानी गर्नुपर्ने ठाउँमा केही नगरेको देखियो,” उहाँले भन्नुभयो, “खप्तड जाने गतिलो बाटो र खाने, बस्ने होटलको व्यवस्था गरेको भए राज्यले करोडौँ रूपैयाँसम्म कर उठाउने गरी पर्यटकको ओइरो लाग्थ्यो । तर खप्तडमा राज्यले लगानी नै नगरेको देखियो,” उहाँले भन्नुभयो ।

खप्तड भ्रमणमा आउनुभएका काभ्रेपलाञ्चोक पाँचखालका जीवन नेपालको टोलीलाई भने खप्तडमा राम्रै भयो । उहाँको टोली खप्तडमा चार दिन बस्यो । उहाँले भन्नुभयो, “धेरै साथीहरूलाई खान, बस्नको समस्या भएर दोस्रो दिन निस्किए । हामीले भने तीन कोठा सुरुमै रिजर्भ गरेको हुँदा त्यस्तो समस्या भएन । जे होस् पूरै खप्तड घुमियो ।”

नेपालको टोलीसँगसँगै आएको अर्को टोली भने खप्तडमा दुई÷चार ठाउँ घुमेर त्यसै दिन फर्कियो । नेपालले भन्नुभयो, “उहाँहरूले कोठा पाउनुभएन । अन्त बस्न पनि केही नभएपछि त्यसै दिन फर्किनुभयो ।”

खप्तडमा आएर अलपत्र परेका पर्यटकलाई मानवीय सहायता गरेर बस्न दिनु परेको श्री सिंह सार्दूल गुल्मका गुल्मपति विनोदबहादुर सिल्वालले बताउनुभयो । “खप्तडमा सयौँको सङ्ख्यामा पर्यटक आउनुहुन्छ, पर्यटन क्षेत्र विकास समितिको होटलमा २५ जनालाई मात्र ठाउँ हुन्छ । त्यसपछि हामीलाई भन्नुहुन्छ, खप्तडको जाडोमा बाहिरै सुत्नुभन्दा मानवीय सहायता गर्नैप¥यो”, उहाँले भन्नुभयो ।

“पर्यटकको व्यवस्था गर्ने हामीले त होइन, छुट्टै निकायहरू छन् । हामीले त सुरक्षा दिने हो । तर, राति, मध्यराति बास नपाएर आउनुहुन्छ, अनि हामीले सकेजति सहयोग गर्नैप¥यो”, उहाँले भन्नुभयो ।

खप्तडमा नेपाली सेनाले बस्नका लागि मात्रै होइन, हजारौँको निःशुल्क उपचार पनि गरिरहेको छ । खप्तडमा बाटो हिँड्न बटुवादेखि घुम्न आएका पर्यटकको उपचार नेपाली सेनाले गरिरहेको उहाँले बताउनुभयो । “बिरामी भएर आउनुहुन्छ, खप्तडमा लेक लाग्ने समस्या उस्तै हुन्छ । हामीले सके जति सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो । सेनाले हरेक वर्ष मेलामा निःशुल्क शिविर आयोजना गर्दै आएको छ । दैनिकजसो १५÷२० जना खप्तड हिँड्नेले पनि सेवा लिइरहेका छन् ।

यता खप्तड पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर खड्का भने खप्तडमा पर्याप्त व्यवस्था नभएको स्वीकार्दै पर्यटकले जानकारी गराएर मात्रै भ्रमणमा आउन सुझाव दिनुहुन्छ । “खप्तडमा पर्याप्त व्यवस्था गर्न सकेका छैनौँ । अहिले पर्यटकको सङ्ख्या पनि बढिरहेको छ । खप्तडमा ३०÷३५ जनाभन्दा बढीका लागि व्यवस्था छैन । आउने पर्यटकले हामीलाई खबर गरेर आउनुभयो भने केही व्यवस्था गर्छौं । हामीलाई खबर नगरी आउनेले दुःख नै पाउँछन्”, उहाँले भन्नुभयो ।

खड्काका अनुसार पर्यटकको व्यवस्थाका लागि भवनहरू पुनर्निर्माण भइरहेका छन् । “यसभन्दा अगाडि बस्न पनि नमिल्ने भएका भवनहरू हामीले बस्न मिल्ने बनाएका छौँ । खप्तड आउने पर्यटकले हामीलाई जानकारी गराएर आउने हो भने हामी सके जति सहयोग गर्छौं”, उहाँले भन्नुभयो । उहाँले खप्तड भन्दैमा सबै सुविधा भएको होला भनेर नसोच्न पर्यटकलाई आग्रह गर्नुभयो । रासस

 

 

सम्बन्धित खबरहरु