काठमाडौं । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् ।

नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो ।

दस वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आउनुभएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले नेपालभन्दा भारतीय बजारमा भुजा बढी बिक्री हुने गरेको बताउनुभयो । घरमा भुटेको भुजा दैनिक भारतीय बजारमा लाग्ने हटियामा लगेर बेच्ने गरेको उहाँको भनाइ थियो ।

दैनिक २५ किलो चामलको भुजा बनाएर बिहानदेखि ग्रामीण भेग तथा हटियामा लगेर बेची दुई सन्तानको पालनपोषणसँगै शैक्षिक खर्च पनि व्यहोर्दै आएको उहाँले बताउनुभयो ।

एकदेखि दुई घण्टामा नै सबै भुजा बिक्री गरेर दैनिक रु छ सयदेखि रु आठ सयसम्म कमाउने गर्नुभएकी मण्डलले खाजादेखि चटपटे र सक्खरको लड्डु बनाउन भुजा नै आवश्यक भएकाले माग धेरै हुने गरेको छ भन्नुभयो ।
अचेल कारखानाबाट उत्पादित भुजा सस्तोमा उपलब्ध भए घरमै भुटेको भुजा उपभोक्ताले बढी मनपराउने गरेको विराटनगरकी सरु पहरीले बताउनुभयो ।

विराटनगर–६ मा भुजा बेच्दै गर्नुभएकी कटहरीकी मालसरदेवी मण्डलले नेपालीभन्दा भारतीयले बढी भुजा किन्ने गरेका छन् भन्नुभयो । भुजा किन्न कतिपयघरमै आउने गरेको जानकारी दिँदै उहाँले हप्तामा एक–दुईपटक नेपाली बजारमा आए पनि प्रायः भारतीय बजारमै भुजा बेच्न जाने गरेको जानकारी दिनुभयो ।

रु एक सय २०मा प्रतिकिलो भुजा बेच्ने गरेको बताउँदै उहाँले मिलको भुजा सस्तो भए पनि भुटेको भुजाको बढी माग भएको मालसरादेवीले सुनाउनुभयो । कतिपयले धान किनी उसिनेर, सुकाएपछि भुजा भुट्ने चामल तयार पार्ने गरेका छन् भने कतिपय प्रतिकिलो रु ५५ का दरले उसिना चामल किनेर भुजा बनाउने गरेका छन् । शशिकला राजवंशीले भारतीय बजारमा अहिले बढी भुजाको माग भए पनि विगतको भन्दा आधा व्यापार कम भएको बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु