काठमाडौं । निर्वाचन आचारसंहिता जारी भएकै समयमा धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस प्रशासनले गरेको १५ जना प्राध्यापकको नियुक्ति विवादमा परेको छ ।

मापदण्ड मिचेर पहुँच र प्रभावको बलमा आफ्ना नजिककालाई नियुक्ति गरिएको भन्दै आंशिक प्राध्यापकको असन्तुष्टि बढेको बेला निर्वाचन आचारसंहिता जारी रहेकै समयमा करार सेवामा गरिएको प्राध्यापकको नियुक्ति विवादित भएको हो । निर्वाचन आयोगले क्याम्पसका प्रमुख धर्मराज उपाध्यायलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जनाइएको छ ।

क्याम्पस प्रमुख उपाध्यायले भने आफूलाई आयोगबाट स्पष्टीकरण सोधिएको भन्ने सुनिए पनि लिखित जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “मङ्सिर ४ गते चुनाव भइसकेपछि क्याम्पसको आन्तरिक विषय भएकाले नियुक्ति गर्न मिल्ने महसुस गरेर नियुक्ति दियौँ, तर केही समय नपर्खेर हामी यसमा अलि कति चुक्यौँ की भन्ने लागेको छ ।”

आचारसंहिताको समय नसकिँदै क्याम्पसमा आंशिकरुपमा प्राध्यापन गर्दै आएका १५ शिक्षकलाई यही मङ्सिर ८ गते शिक्षण सहायक करार पदमा छनोट गर्ने निर्णय गर्दै क्याम्पस प्रशासनले करार पदमा नियुक्त गरेको हो । क्याम्पस प्रशासनले आफ्ना नजिकका र पहुँचवालालाई समेट्न सकिने गरी मापदण्ड बनाएर शिक्षक (प्राध्यापक)लाई करार पदमा नियक्त गरिएको भन्दै अन्य आंशिक प्राध्यापकमा असन्तुष्टि बढेको छ ।

ज्येष्ठता र कार्यक्षमताको मापदण्डको पालना नगरी शक्ति र पहुँच पुगेकालाई करार सेवामा नियुक्ति दिएर बनाइएको मापदण्ड मिचिएको छनोटमा नपरेका एकजना ज्येष्ठ प्राध्यापकले बताउनुभयो । क्याम्पस प्रमुख उपाध्यायले ज्येष्ठता, कार्यक्षमता, औचित्यता र कार्यभार गरी चार मापदण्ड बनाएर करारमा छनोट गरिएको र यसमा निष्पक्षता अपनाइएको दाबी गर्नुभयो ।

क्याम्पस प्रमुख संयोजक रहेको छनोट समितिमा क्याम्पसका प्राध्यापक प्रेमराज भण्डारी, डा लोकबहादुर विष्ट, मोहनसिंह साउद सदस्य रहेको बताइएको छ । सुदूरपश्चिम विश्वविद्यालयले करार सेवामा नियुक्ति गर्न क्याम्पसलाई अनुमति दिएको थियो । क्याम्पस प्रशासनले विसं २०६९ देखि २०७३ सम्म सेवा सुरु गरेकालाई करारमा नियुक्तिका लागि छनोट गरेको दाबी गरे पनि विसं २०७३ पछि सेवा सुरु गरेकालाई पनि छनोट गरेको बताइएको छ ।

क्याम्पसले बनाएको पुरानो ‘मेरिट लिस्ट’ अनुसार नछानेर मेरिट लिस्टमा पछाडि परेका चार जनालाई समेत छनोट गरेपछि अन्य प्राध्यापकको असन्तुष्टि बढेको हो । क्याम्पस प्रशासनले समाज शास्त्र, व्यवस्थापन, बजार शास्त्र, भौतिक शास्त्र, नेपाली, वित्त शास्त्र, प्राणी शास्त्र, वनस्पति शास्त्र, तथ्याङ्क शास्त्र, लेखा शास्त्र, अङ्ग्रेजी र अङ्ग्रेजी शिक्षामा एक/एक जना र अर्थशास्त्र तीन जना आंशिक प्राध्यापकलाई करार सेवामा छनोट गरी नियुक्ति गरेको हो ।

निजी क्षेत्रको पहलमा विसं २०३८/३९ तिर स्थापना गरिएको कैलाली बहुमुखी क्याम्पसले दुई वर्षअघि मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । क्याम्पसमा मानविकी, व्यवस्थापन, विज्ञान, कानुन, पत्रकारिता, शिक्षालगायतका पाँच वटा विधामा अध्ययन अध्यायपन हुने गरेको छ । रासस

 

 

सम्बन्धित खबरहरु