काठमाडौं । इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको "सबोटेज नेटवर्क" का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।


गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा "तोडफोड गर्ने कार्य" गर्ने योजना बनाएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।

गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित "प्रतिक्रान्तिकारी तत्त्वहरू" को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड र हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूले राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधि पनि गरेको पाइएको छ ।

युक्रेनी ड्रोन आक्रमणपछि क्रेमलिनद्वारा 'घरेलु सुरक्षा' बारे छलफल
राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको "घरेलु सुरक्षा" का विषयमा शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि खतरा खडा गरेको रुसको बुझाइ छ ।
यसअघि मङ्गलबार पनि अधिकारीहरूले युक्रेनको सीमानामा रहेको रुसको कुर्स्क क्षेत्रमा एउटा एयरफिल्ड नजिकै ड्रोनले आक्रमण गरेको थियो ।

जसको एक दिनपछि मस्कोले कीभलाई अन्य दुई एयरफिल्डमा ड्रोन हमलाको दोष लगाएको थियो।
सोमबारको ड्रोन हमला अत्यन्तै असामान्य थियो किनभने दुबै साइटहरू युक्रेनको सीमाबाट सयौं किलोमिटर भन्दा टाढा छन्।

राष्ट्रपति पुटिनले आफ्नो सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको "घरेलु सुरक्षा" कसरी सुनिश्चित गर्ने भनेर छलफल गरेको क्रेमलिनले मङ्गलबार जनाएको छ ।
पत्रकारहरूसँग छुट्टै कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनी आक्रमणबाट देशलाई बचाउन "आवश्यक" उपायहरू अवलम्बन गरिरहेको बताएका छन् ।

"निस्सन्देहरूपमा त्यस्ता आतङ्कवादी कार्यहरू जारी राख्न युक्रेनी शासनद्वारा खुला रूपमा घोषणा गरिएको पछिल्लो गतिविधि खतराको कारक हो," पेस्कोभले ड्रोन आक्रमणको बारेमा सोध्दा पत्रकारहरूलाई बताएका छन् ।
यसअघि मङ्गलबार, कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले स्थानीय एयरफिल्ड नजिकै ड्रोन आक्रमणको परिणामस्वरुप तेल भण्डारण ट्याङ्कीमा आगो लागेको बताएका थिए। त्यहाँ कुनै हताहती भने भएको थिएन तर त्यसको उद्देश्य भने अझै स्पष्ट भइसकेको छैन।

सोमबार रुसको रक्षा मन्त्रालयले युक्रेनले मध्य रियाजान क्षेत्रको ड्यागिलेभो एयरफिल्ड र साराटोभ क्षेत्रको एंगेल्स एयरफिल्डमा "सोभियत निर्मित ड्रोन" प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेको बताएको थियो।
एङ्गेल्स देशको रणनीतिक विमानको आधार हो जुन कीभले युक्रेनमा आक्रमण गर्न प्रयोग गर्ने गरेको बताएको छ।

ती हमलाहरूको परिणाम स्वरूप तीन सैनिक मारिएका छन् र चार जना घाइते भएको मन्त्रालयले बताएको छ। त्यसतै आक्रमणबाट दुईवटा विमानमा पनि सामान्य क्षति पुगेको छ ।
क्रेमलिनले युक्रेनमा मस्कोको आक्रमणको क्रममा आफ्नो मानवीय र भौतिक क्षतिको बारेमा कडा दृष्टिकोण राखेको छ। रासस

 

 

सम्बन्धित खबरहरु