काठमाडौं । पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ ।


पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनःलाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ ।

आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्षमतामा समेत वृद्धि हुने जानकारी दिनुभयो । तालिमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ ।

यही मङ्सिर १९ गते सोमबारबाट सञ्चालन गरिएको तालिममा ४० सहभागी छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारीले पर्यटकलाई राम्रो सत्कार गर्न सके पाँचपोखरी पर्यटनका माध्यमबाटै समृद्ध हुने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष ङिमाछिरिङ तामाङ, वडा नं ४ का अध्यक्ष कुलबहादुर बस्नेत, गाउँपालिकाका प्रशासन प्रमुख रामप्रसाद न्यौपाने, थाङ्पाल उपत्यका एकीकृत पुनःलाभ कार्यक्रमका संयोजक तामाङलगायतले पाँचपोखरीको पर्यटन उकास्न होटल र होमस्टेको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । तालिमका सहभागी दोकदोक तामाङले यस कार्यक्रमले थप सिकाइ र आत्मविश्वास बढ्ने बताउनुभयो ।

तालिमको आगन्तुक रिसोर्ट प्रालिका व्यवस्थापक विमल पौड्याल, होटल यात्री ठमेलका एसिस्टेन्ट चिफ मोहनकुमार बस्नेतलगायतले सहजीकरण गरिरहनुभएको छ । पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गरेमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भई गाउँपालिकाको आयस्रोत बढ्ने विश्वास लिइएको गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु