काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिएको छ ।
नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैलाई सरकारकातर्फबाट धन्यवाद दिने निर्णय भएको बताउनुभयो ।
म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र
म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौ सडक र मोटरेबल पुलसम्बन्धी योजना अलपत्र परेका हुन् । त्यसमा पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छ सडक र पाँच मोटरेबल पुल छन् ।
यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शय्याको भवन निर्माण छ । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी बालढुङ्गालगायत सडक पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गर्दा समस्या भएको छ ।
म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यले जिल्लाका अधुरा र अलपत्र योजनालाई छ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले जिल्लामा रोकिएका विकास निर्माणका योजनालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
तीन वर्षदेखि म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती कालोपत्र सडक योजना अलपत्र छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजना निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै पुरा गर्न नसकेको हो ।
आयोजनाको थप समयमा निर्माण कम्पनीले काम सुरु नगरेपछि रघुगङ्गा गाउँपालिका–२ र ३ वडाका जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका छन् । वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्र गर्ने काम छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा निर्माण कम्पनीको लापरबाहीले कालोपत्र गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेका कारण समन्वय गरेर काम अघि बढाउन उल्लेख गरेका छन् ।
प्रमुख अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रकोे काम तत्काल अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताउनुभयो । “निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटकपटक पत्र काटेका छौँ, यही महिनाको अन्तिमबाट काम सुरु हुन्छ”, अधिकारीले भन्नुभयो ।
पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्र गर्न निर्माण कम्पनीले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायतका काम गरेर छोडेको थियो । भ्याटसहित रु १८ करोड ४१ लाख आठ सय ३८ मा ठेक्का सम्झौता भएको यस योजनामा आठ किलोमिटर सडक आठ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्र गर्नुपर्ने उल्लेख छ । प्रदेशका अन्य योजनालाई तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि पर्वतको मालढुङ्गासम्मको १३ किलोमिटर लामो बेनी–मालढुङ्गा सडक आयोजनाको काम अघि बढ्न सकेको छैन । निर्माण कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्डको काम अघि नबढेको हो । निर्माण व्यवसायी चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ । यो सडकमा १३ किलोमिटर दूरी पार गर्न सवारीसाधनलाई डेढ घण्टा समय लाग्छ । रासस