काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ ।

एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहनेछ । पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेइ, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, भारत र बङ्गलादेशको सहभागिता रहनेछ । यसैगरी महिलातर्फ नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डको सहभागिता रहनेछ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि भारतीय टोली सोमबार नै नेपाल आइसकेको छ । नेपालको यू–१८ टोलीले करिब डेढ महिनादेखि हेटाँैडाको रङ्गशालामा तयारी गरिरहेको सङ्घका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

त्रिवेणी–इल सडक निर्माण सुरु
भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको छ ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ । जगदुल्ला जलविद्युत् आयोजनाकै अग्रसरतामा उक्त सडक निर्माणका लागि पहल थालिएको हो । यो सडक भालुलेक हुँदै जुम्ला जोड्नका लागि पनि उपयुक्त मार्ग छ ।

डोल्पाको त्रिवेणी–नर्कु–सर्मी हुँदै भालुलेकसम्मको १६ किलोमिटर सडक निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृत भएसँगै सडक निर्माणका लागि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले आज बोलपत्र आह्वान गरी कामको प्रक्रिया सुरु गरेको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिनुभयो ।

भेरी करिडोरले जिल्लाको सिमानालाई छोएर जाने भए पनि मुड्केचुला गाउँपालिकाका विभिन्न ठाउँमा सडक निर्माणमा समस्या हुँदै आएको थियो । अब जलविद्युत् आयोजनाले नै काममा सक्रियता देखाएपछि यहाँका सर्वसाधारणहरु खुसी भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

जुम्लाबाट मुड्केचुलातिरका केही गाउँबस्तीमा सडकले गति लिएको भए पनि तल्लो क्षेत्रमा रोकिएको सडक निर्माणले अब तीव्रता पाउने भएको छ । त्रिवेणी जुम्ला सडक निर्माणपछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभई जगदुल्ला हाइड्रोपावर निर्माणमा सहयोग पुग्ने जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर सापकोटाले जानकारी दिनुभयो ।

यता भेरी नदीमाथि निर्माण हुन लागेको तल्लुस्थित पुल निर्माण छिटो भएमा यहाँ निर्माणका लागि सामग्री आयातमा सहज हुने आयोजनाले बताएको छ । रासस

सम्बन्धित खबरहरु