Ukraine said to India: You are taking Russian oil at the cost of our lives

काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले मंगलबार सार्वजनिक रूपमा भारतले रुस–युक्रेन युद्धको फाइदा उठाएको आरोप लगाएका छन् । अङ्ग्रेजी पत्रिका द टेलिग्राफमा प्रकाशित समाचार अनुसार कुलेवाले भारतीय पक्षसँग ‘युक्रेन युद्ध’ भनेको कुरामा प्रश्न पनि उठाएका छन् ।

उनले भने, ‘जब भारतले हाम्रो दु:ख र पीडाबाट फाइदा लिइरहेको छ, तब हामीलाई दिने सहयोगलाई पनि त बढाउन सक्छ ।’ यस वर्षको फेब्रुअरी २४ मा रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि नै भारत सरकारले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरको भनाइ सार्वजनिक भएपछि कुलेवाले भारतबारे यस्तो बयान दिएका हुन् । जयशंकरले फेरि एकपटक भारतले अझै पनि युरोपियन युनियनको तुलनामा धेरै कम मात्रामा रुसी तेल खरिद गरिरहेको बताएका छन् ।

कुलेबाले भने, ‘युरोपियन युनियनमाथि औंला उठाएर हुँदैन्, उनीहरूले पनि त्यस्तै गरिरहेका छन् भनेर मात्रै पुग्दैन् ।’ भारतले आजका दिनमा सस्तो रुसी तेल खरिद गरेर पैसा बचत गर्ने अवसर पाएको उनको बुझाई छ । युरोपेली संघले रुसबाट तेल किनिरहेको भन्दै भारतले पनि किन्न नमिल्ने उहाँको तर्क छ ।

किनभने रुसी युद्धका कारण युक्रेनी जनता पीडा र मर्न बाध्य छन् । आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै भारतले युक्रेन युद्ध सुरु भएदेखि नै सस्तो दरमा उपलब्ध रुसी तेलको आयात बढाएको छ । तर, युक्रेनमा जारी युद्धलाई लिएर भारतको दृष्टिकोण चिन्ताले भरिएको छ ।

द हिन्दुमा प्रकाशित समाचारका अनुसार संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले मंगलबारको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा भारतले लगातार वार्ता सुरु गर्नेतर्फ अघि बढिरहेको बताइन् ।

उनले भनिन्, ‘भारतले हिंसा तत्काल रोकिनुपर्छ भन्ने अडान राख्दै आएको छ । भारतले दुवै पक्षलाई कूटनीति र संवादतर्फ अघि बढ्न आग्रह गरेको छ । द्वन्द्व अन्त्यका लागि सबै कूटनीतिक प्रयासलाई समर्थन गर्ने निरन्तरता रहेको छ ।’

सम्बन्धित खबरहरु