काठमाडौं । भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ ।

महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले बेहोर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णय कार्यान्वयनमा ल्याउनका लागि आज उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो ।\

महानगरपालिकाभित्र रहेका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग एक कार्यक्रमका बीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो । सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मङ्सिरदेखि कार्यान्वयनमा आउने भएको छ ।

सम्झौता कार्यक्रममा महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला आयोजना निर्माणको चरणमा रहेका छन् । जसले गर्दा केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन ।” अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार दुई सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । सतचालीस हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताउनुभयो । दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उहाँको भनाइ थियो । पहाडी क्षेत्रमा डिप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उहाँले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताउनुभयो । कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु