India Bangladesh Cricket : काठमाडौं । भारतसँगकाे एकदिवसीय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेकाे छ । मिरपुरमा भएकाे दाेस्राे एकदिवसीय खेलमा बङ्गलादेशले भारतलाई पाँच रनले हराउँदै शृङ्खला जितेकाे हाे ।

बङ्गलादेशले दिएकाे दुई सय ७२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ६६ रनमात्र बनाउन सक्याे । भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र राेहित शर्माले नटआउट ५१ रन बनाए । बलिङतर्फ बङ्गलादेशका इबादत हाेसैनले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७१ रन बनायाे । बङ्गलादेशका लागि मेहदी हसनले १०० रन बनाए । यस्तै महमदुल्लाहले ७७ रन बनाए । बलिङतर्फ भारतका वाशिङ्टन सुन्दरले तीन विकेट लिए ।

पहिलाे खेलमा एक विकेटले विजयी भएकाे बङ्गलादेशले एक खेलअघि नै शृङ्खला जितेकाे हाे । तेस्राे तथा अन्तिम खेल आउँदाे शनिवार हुनेछ ।

किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी
‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो । टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बल खेल्दै १ सय रनको योगफल खडा गरेको थियो । सिरहाका लागि चन्द्रिका साहले २१ र शोभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तका रूपमा पाएका थिए ।

बलिङतर्फ सप्तरीका साक्षी यादवले सर्वाधिक ३ विकेट लिइन् । सप्तरीकी अञ्जुकुमारी प्रमाणीले २ विकेट तथा सङ्गीताकुमारी यादव, राधाकुमारी यादव र दीपिका सिंहले १/१ विकेट हात पारे ।

जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर विजय हात पारेको थियो । सप्तरीका लागि सरस्वती कुमारी यादवले सर्वाधिक १७ रन, साक्षीकुमारी यादवले १२ रन जोडेका थिए । सप्तरीकी अञ्जुकुमारी प्रमाणी अविजित आठ रन तथा सङ्गीताकुमारी यादवले अविजित ६ रन बनाएकी थिइन् । बलिङतर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुनले १/१ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच सप्तरीकी साक्षीकुमारी यादव घोषित भएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिनुभयो । उक्त अवसरमा डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव र राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले विजेता टिमलाई ट्रफी र मेडल प्रदान गर्नुभयो ।

यसैगरी सबल नेपालका अध्यक्ष जुना गिरी, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम चौधरी, कार्यक्रम निर्देशक प्रभुनारायण चौधरी, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रवणकुमार देव, सिरहा क्रिकेट सङ्घ अध्यक्ष सुनिल महासेठ, मेलबर्न क्रिकेट क्लबकी लेबल थ्री कोच सारा बेगलगायतले विजेता, उपविजेता टिमलाई कप, मेडल तथा मायाको चिनोबाट सम्मान गर्नुभयो ।

उक्त अवसरमा ग्रामीण भेगका किशोरीबीचमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतनाको अभाव हुनाले महिनावारी स्वच्छताबारेमा विभिन्न सन्देशमूलक सामग्री प्रदर्शन गरिएको थियो ।

 

सम्बन्धित खबरहरु