काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीसँग विद्यार्थी भिडेका छन् । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यलयमा सोमबार विद्यार्थी नेता र कर्मचारीबीच हात हालाहाल भएको हो ।

अखिल क्रान्तिकारीका त्रिवि समितिका अध्यक्ष प्रदिपराज कपाडी (भट्ट) र अध्ययन संस्थानका लेखा प्रमुख पवित्रकुमार बस्नेतबीच हात हालाहाल भएको थियो । जानकारी अनुसार दुबै पक्षले आफूमाथि कुटपिट भएको भन्दै कारबाहीको माग गरेका छन् ।

त्रिवि प्रगतिशील कर्मचारी संगठन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै लेखा प्रमुख बस्नेतमाथि छलफल चलिरहेको बेला अखिल क्रान्तिकारीका नेता कपाडीले हात हालेका हुन् ।

एक विज्ञप्तिमा त्रिवि व्यवस्थापन पक्षले छानबिन गरी न्यायको कठघरामा ल्याई दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ ।

अनेरास्ववियु क्रान्तिकारीले पनि लेखा प्रमुख बस्नेतले अध्यक्ष कपाडीलाई सांघातिक आक्रमण गरेको आरोप लगाएको छ ।

विद्यार्थीको भर्ना शुल्क, परीक्षा शुल्क, आर्थिक अनियमितता र भ्रष्टाचारको बारेमा सूचना माग्दा लेखा प्रमुख बस्नेतले कपाडीमाथि आक्रमण भएको भनिएको छ ।

सम्बन्धित खबरहरु