काठमाडौं । चिसापानीमा एक महिला घरनजिकै मृत फेला परेकी छिन् । काठमाडौं, चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा एक महिला घरनजिकै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

प्रहरी वृत्त थानकोटका अनुसार अन्दाजी २५ वर्षकी दीपा पराजुली थापा मङ्गलवार बेलुका मृत फेला परेकी थिइन् । प्रहरीका अनुसार दीपाले करिब सात महिनाअघि सोही ठाउँमा सुन्दर थापासँग विवाह गरेको खुलेको छ ।

विवाहपछि छोरीलाई दाइजोको कारण थापा परिवारले तनाव दिने गरेको माइती पक्षले आरोप लगायो । दीपाका बुबा रतन पराजुली आफ्नी छोरीले आत्मह*त्या नगरेको बताउँछन् ।

छोरीको ह*त्या गरेर रुखमा झुण्ड्याइएको उनको भनाई छ । मृतकको शवलाई पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ ।

सुन्दर कलंकीमा पसल गर्दै आएका छन् । घटना भएको दिन घरमा सासू ससुरा पनि नभएको प्रहरी बताउँछ । श्रीमान् बिहानै पसल आएका थिए । जब उनले घरमा भएकी श्रीमतीसँग कुरा गर्नलाई फोन लगाए, तर उठेन् ।

करिब २/३ घण्टापछि फोनमा कुरा हुन नसकेपछि थापाले छिमेकीलाई ‘मेरो घरको फोन उठेन कोही पनि छैन कि क्या हो ? गएर हेरिदिनु’ भनेर जानकारी गराए । छिमेकी घरमा जाँदा कोही पनि थिएनन् । सुन्दर दिउँसो तीन बजेतिर पसलबाट घर पुगेका थिए ।

घरमा खोज्दा उनले श्रीमती भेट्टाउन सकेनन् । त्यसपछि स्थानीयसहित खोज्न घर नजिकै दीपा मृत अवस्थामा फेला परेकी हुन् । मृतकका आफन्तले घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

सम्बन्धित खबरहरु