काठमाडौं । बलिउड अभिनेता मनोज बाजपेयीलाई मातृशोक परेको छ । आमा गीता देवीको ८० वर्षको उमेरमा निधन भएको हो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

उहाँलाई लामो समयदेखि उमेर सम्बन्धी रोग थियो । उहाँले आज बिहान ८:४५ बजे दिल्लीको एक अस्पतालमा अन्तिम सास लिनुभयो । गीतादेवीको एक्कासी भएको मृत्युपछि मनोजसँगै उहाँको सिंगो परिवार स्तब्ध भएको छ ।

मनोज बाजपेयीले एक पुरानो अन्तर्वार्तामा भन्नु भएको थियो, ‘म मेरा आमाबुवासँग धेरै नजिक छु । मेरो र मेरा दाजुभाइको शिक्षाका लागि मेरा आमाबुवाले धेरै संघर्ष गर्नुभएको छ । उहाँहरूले मेरो मनपर्ने अभिनेता मनोज कुमारको नामबाट मेरो नाम मनोज राख्नुभयो ।’

गत वर्ष अक्टोबरमा मनोज बाजपेयीका पिता राधाकान्त बाजपेयीको ८३ वर्षको उमेरमा निधन भएको थियो । उहाँ पनि लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । दिल्लीको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

बुवाको निधन भएपछि मनोज केरलामा रहेको फिल्मको सुटिङ छाडेर दिल्ली पुग्नु परेको थियो । मनोजका तीन भाइ छन्, जसमा मनोज जेठा हुनुहुन्छ । मनोज बाजपेयीले दूरदर्शनबाट प्रसारण हुने शो ‘स्वाभिमान’ बाट आफ्नो फिल्मी यात्रा सुरु गर्नुभएको हो ।

त्यसपछि बलिउडमा ‘ब्यान्डिट क्वीन’ बाट प्रवेश पाउनुभयो । उक्त फिल्ममा उहाँको दमदार अभिनयले सबैको मन जित्यो । त्यसपछि उहाँले आफ्नो चलचित्र जीवनमा पछि फर्केर हेर्नु परेन । अब उहाँलाई राख, गुलमोहर आदिमा देख्न पाइनेछ ।

सम्बन्धित खबरहरु