काठमाडौं । पाल्पामा केही दिन पहिले बिहे भोज खाएर दुई सय जनाभन्दा बढी मानिस बिरामी परेको घटनामा नयाँ मोड आएको छ ।

जानकारी अनुसार दूषित पानीको प्रयोग भएका कारण उनीहरू बिरामी परेका हुन् । बिहेको भोजमा प्रयोग भएको पानीमा कोलिफर्मको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी गरायो ।

स्वास्थ्य कार्यालयले बिहेको भोजमा प्रयोग भएको दुई वटा ड्रमको पानी दूषित भएको जानकारी गराएको छ । दुई वटा ड्रमको पानी परीक्षण गर्दा एउटा ड्रमको पानीमा कोलिफर्म जीवाणु फेला परेको छ ।

यद्यपि पानीको स्रोत भएको मुहानबाट भने परीक्षण गर्न बाँकी छ । स्वास्थ्य कार्यालय पाल्पाले बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको यकिन गर्न सकिने जानकारी प्राप्त गरिसकेको छ ।

तर पानी मूलबाटै दूषित बनेको हो वा ड्रम दूषित भएको भन्ने कुरा भने अनुसन्धान भइरहेको छ । पाँच दिनअघि त्यहाँको बगनासकाली–१, चिर्तुङ्धारास्थित घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहे थियो ।

सोही बिहेमा भोज खाएर धेरै जना बढी गाउँले, आफन्त तथा प्युठानबाट आएका जन्ती बिरामी परेका थिए । बिहेको भोज खाएपछि पेट दुख्ने, वान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो समस्या देखा परेको थियो । बिरामीमध्ये अहिले पनि केहीको उपचार भइरहेको छ । केही बिरामीको स्वास्थ्य अवस्था ठीक भइसकेको छ ।

 

सम्बन्धित खबरहरु