63,137 students were initiated in the 48th convocation ceremony of Tribhuvan University:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिनुभएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनःनिर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताउनुभयो ।

होमस्टेबाट जीविकोपार्जनमा सहयोग
सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो ।

यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढेको हो । हाल गाउँपालिकाले होमस्टेको व्यवस्थापनका लागि कार्यविधि समेत बनाउन लागेको छ ।

होमस्टेमा पाहुनालाई न्यानो सत्कार, पाहुनाको रोजाइअनुसारका अर्गानिक तरकारीसहित मिष्ठान्न भोजन खुवाइने भएकाले होमस्टेमा बस्ने पर्यटक बढेको थाङपालकोट मानेखर्कका कान्छी तामाङले बताउनुभयो ।

उहाँका अनुसार ३२ वटा होमस्टे रहेको गाउँपालिकामा कुनै दिन ८० जनाभन्दा बढी पाहुना पुग्नुहुन्छ । पर्यटकलाई स्थानीय स्तरमा उत्पादित अग्र्यानिक तरकारी तथा खाद्यान्नका मिष्ठान्न भोजन खुवाइने उहाँको भनाइ छ ।

विश्वभरी फैलिएको कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा लामो समय बन्द जस्तै रहेको होमस्टे व्यवसाय फेरि तङ्ग्रिन थालेको उहाँले बताउनुभयो । होमस्टेबाट हुने आम्दानीले परिवारको खर्च टार्न निकै सहज भएको पाँचपोखरी थाङपाल–४ मानेखर्कका मानबहादुर तामाङले बताउनुभयो ।

विश्वको नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरी कुण्डसहित आमायाङ्ग्री, ढुक्पु, डुखाङ, हवेली, ड्रागन गुफा, नागीथामडाँडा, रैथानेश्वरी जस्ता पर्यटकीयस्थलको प्रवद्र्धनसँगै पर्यटकको रोजाइको गन्तव्य बनाउनका लागि पालिकाले विभिन्न योजना ल्याएको छ ।

पालिकाले ‘पाहुना हाम्रो साथी’ अभियानसँगै होमस्टेलाई प्रोत्साहन गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।

गाउँपालिकाभित्र फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथनजस्ता जिल्ला तथा राष्ट्रियस्तरका खेलकुदका प्रतियोगिता आयोजना हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बाक्लिँदै गएको छ । जसकारण व्यवसायमा चहलपहल बढेको छ भने पर्यटीयस्थलको प्रचारप्रसारसँगै होमस्टे सेवाबाट स्थानीयको जीविकोपार्जन पनि राम्रो हुन थालेको छ ।

पालिकाले होमस्टे सञ्चालनबारे गत सोमबारदेखि बुधबारसम्म तालिम दिएपछि उत्साह बढेको स्थानीय होमस्टे सञ्चालक दोकदोक तामाङले बताउनुभयो । उहाँले स्थानीय उत्पादनबाट धेरै परिकार बनाउन सिकेको भन्दै अब त्यसलाई व्यवहारमा उर्तार्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले होमस्टेसम्बन्धी तालिम अर्को पटक पनि आयोजना गर्ने बताउनुभयो । होमस्टे सञ्चालकलाई तालिममा सहयोग गरेको संस्था ग्रामीण समाजकल्याण सङ्घ (आर्सो) नेपालका परियोजना संयोजक हर्क तामाङले पाँचपोखरीमा होटल र होमस्टे व्यवस्थापन प्रवद्र्धन गर्नसके आयस्रोत बढ्ने बताउनुभयो ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा होमस्टेबाट गुणस्तरीय सेवा दिन सके पर्यटकको सङ्ख्या बढ्नुका साथै गाउँपालिको आम्दानी पनि बढ्ने गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेको भनाइ छ । रासस

 

 

सम्बन्धित खबरहरु