Refreshments are being organized by the Election Commission:
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उहाँको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा समय थप
ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।

सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समितिको कार्यालयले जनाएको छ ।

यसअघि माग दाबी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टकोसमेत गरी रु १० अर्ब भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेन्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

सरकारले समस्याग्रस्त घोषणा गरेपछि एउटा पत्रमात्र पठाएर अरु कागजात नदिँदा बचतकर्ताको पैसा फिर्ताका लागि प्रमाण जुटाउन समस्या भएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले बताउनुभयो । ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेपछि सात हजार छ सय ४६ जनाले पैसा डुबेको भन्दै माग दाबी गरेको पनि उहाँले सुनाउनुभयो ।

ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सहकारी सञ्चालक समितिले समस्या समाधान नगरेपछि सरकारले दोस्रोपटक ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको हो ।

यस वर्ष गत असोज ७ गते सरकारले दोस्रोपटक ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि यही मङ्सिर ९ गते मागदाबी गर्नेको अभिलेख अद्यावधिक गर्न सुरु गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका पौडेलले राससलाई जानकारी दिनुभयो ।

पहिलोपटक सूचना जारी गरिएको अवधिभित्र ओरेन्टलका धेरै बचतकर्ताको निवेदन दर्ता हुन थालेपछि मङ्सिर २३ गतेदेखि १५ दिनको अवधि राखेर फेरि अर्को सूचना जारी गरिएको पनि उहाँले बताउनुभयो । यो अवधि आगामी पुस ८ गते सकिने पनि समितिको कार्यालयले जनाएको छ । रासस

 

 

सम्बन्धित खबरहरु