काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह ( Balen Shah ) ले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताउनुभएको छ ।

आज बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताउनुभएको हो । उहाँले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले सप्ताहव्यापी महानगर दिवस मनाउँदै गर्दा विभिन्न कुरालाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ । उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेका छौँ ।

उपत्यकाभरि र काठमाण्डौ महानगरभरि रहेका डबलीमा साङ्गीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन हुने गर्दथ्यो । त्यसलाई फेरि पुनर्जागरण गर्नुपर्छ ।’

मेयर साहले संस्कृतिलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा छिमेकी पालिका र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । काठमाडौं महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु