A girl died due to a tipper collision at Rupni Chowk today, police office vandalized:

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चोकमा आज टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले स्थानीय प्रहरी कार्यालयमा तोडफोड गरेको छ ।

रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक खढडमा ना १ क ८५४२ नं को टिपरले विद्यालय जाँदै गरेकी स्थानीय शङ्कर यादवकी १२ वर्षीया छोरी रीताकुमारी यादवलाई ठक्कर दिएको थियो । सो ठक्करबाट सामान्य घाइते भएकी बालिकालाई टिपर चालकले टिपर ब्याक गरेर हत्या गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भई स्थानीयवासीले प्रहरी कार्यालयभित्र प्रवेश गरेर टिपर र इलाका प्रहरी कार्यालयमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

तोडफोडबाट प्रहरी कार्यालयमा ढोकासहितका फर्निचर सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दासहितको आक्रोशित भीडले पूर्व–पश्चिम सडकको रुपनी खण्डमा टायर बालेर प्रदर्शन गरिरहेको छ । प्रहरी कार्यालयमा भएको तोडफोड नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ ।

यता घटनालाई नियन्त्रणमा लिन र स्थिति साम्य बनाउन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वको टोली घटनास्थलमा परिचालन भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । बालिकाको ज्यान लिने टिपर चालकमाथि कारबाही तथा क्षतिपूर्तिको माग राख्दै प्रदर्शन जारी राखेका छन । रासस

 

 

सम्बन्धित खबरहरु