नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा केही दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा फागुन १ देखि चैत २४ गतेसम्म संगठन र संघर्षको अभियान चलाउने प्रस्ताव गरिएको छ । मौखिकरुपमा पेश गरिएको प्रस्तावमाथि बुधबारबाट थप छलफल हुने नेताहरुले बताएका छन् ।
अभियानका क्रममा देशभर संगठन सुदृढीकरणसँगै जानकारबाही अभियान चलाउने प्रस्ताव छ । ‘सामाजिक विकृति विसंगति, भ्रष्ट दलाललाई जनकारबाही गर्ने प्रस्ताव आएको छ’ एक नेताले जनबोलीलाई भने, ‘देशभरमा २ सयवटा यस्ता कारवाही गर्ने तयारी छ ।’
संगठन सुदृढीकरण अन्तरगत जनसरकारको अवधारणा अनुसार जनसमितिहरु बनाइनेछ । जनसेनाको अवधारणामा राष्ट्रिय युवा जनस्वयं सेवक ब्यूरोलाई ब्यूँताइने छ ।
उदयबहादुर चलाउने ‘दीपक’ नेत्रविक्रम चन्द विप्लवसँगै पार्टी छाडेर गएपछि बैद्य माओवादीमा यो संगठन निश्क्रिय जस्तै भएको थियो । नेताहरुका अनुसार विप्लवकै योजनाअनुसार बनेको जनस्वयं सेवकका अधिकांश नेता कार्यकर्ता उनीसँगै गएका छन् ।