काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उहाँलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाउनुभएको छ ।

प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।

राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १७९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभयो ।

अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञिप्ति

सम्बन्धित खबरहरु