Tree Transplant Machine : काठमाडौं । यतिबेला देशभरका शहरहरुका सडक विस्तार भइरहेका छन् । राजमार्गहरुपनि फराकिला बनाइदैछ ।

विकासका लागि यो अति राम्रो पक्ष हो । तर यी विकासले सबैको मन दुख्ने विनासपनि आँखाले टुलुटुलुहेर्नु परेको छ ।

चितवनको नारायणगढ बजार, कैलालाीको धनगढी बजारमा सडक विस्तारका लागि डोजर चलिरहेका छन् । स्थानीय सरकार र स्थानीयवासीले वर्षौं दुःख गरेर हुर्काएका रुख–विरुवामा पनि डोजर चलिरहेको छ ।

सडक सीमाभित्रका घर नभत्काइ नहुने बताएको सडक विभागले त्यसभित्रै परेका रुख–बिरुवा पनि आँखा चिम्लेर मासिरहेको छ ।

हरियालीको महत्वप्रति सरकार संवेदनशील हुन्थ्यो भने वर्षौं लगाएर शहरभित्र हुर्काइएका रुख पक्कै काटिने थिएनन् । प्रविधि ल्याएर त्यही सडकको छेउमा सार्न सकिन्थ्यो ।

नहटाई नहुने भए उपलब्ध प्रविधि र सवारी साधनले यिनलाई शहरका अन्य भागका विस्तार भइसकेका र अब नहुने तय भएका सडकसहित पार्क, खुला क्षेत्रमा लगेर सार्न सकिन्थ्यो । तर, त्यसमा कसैको चासो छैन ।

अन्तर्राष्ट्रिय अभ्यास पछ्याउने हो भने यिनै रुख–विरुवालाई अस्थायी रुपमा कुनै ठाउँमा रोपिराखेर सडक विस्तारपछि बन्ने ‘ग्रिनरी बेल्ट’ (मेडियन) मा पुनः ल्याएर रोप्न सकिन्थ्यो । तर नेपालमा त्यस्तो देखिदैन ।

विकासका नाममा दैनिक सयौं रुख–विरुवा सखाप पार्ने सडक विभागसँग हालसम्म एउटा पनि ‘ट्रि ट्रान्सप्लान्टर’ मेसिन छैन । सडक विस्तार गर्दा धेरैजसो रुख जंगल क्षेत्रकै काटिने भएकाले विभागले यसको आवश्यकता बोध नै गरेको छैन ।

रुख काट्ने अनुमतिका लागि दौडधुपमा रहने सरकारका रेल, विद्युत्, खानेपानी, शहरी विकास लगायत विभागहरुले पनि यस्तो प्रविधि भित्र्याउन आवश्यक ठानेका छैनन् । एउटा रुख हुर्काउन हजारौं रुपैयाँ लगानी गरिरहेको काठमाडौं महानगरपालिकाले समेत यसमा चासो दिएको छैन ।

धेरै नै महँगो हुने भएका कारण कसैले यस्तो प्रविधिमा रहेर काम गर्न चासो नदिएका भने हैनन् । यस्ता ट्रान्सप्लान्टर मेसिन महानगरका जनप्रतिनिधि वा विकासे अड्डाका हाकिमहरु चढ्ने गाडीकै भाउमा आउँछ ।

अन्तर्राष्ट्रिय बजारमा ठूला ट्रान्सप्लान्टरको मूल्य करिब १ करोड रुपैयाँबाटै सुरु हुन्छ । यस्ता मेसिनले हुर्किएका रुखहरु जरैसहित सर्लक्क उखेलेर अन्यत्र रोप्छन् । संसारमा सामान्य भइसकेको ट्रि–ट्रान्सप्लान्टर मेसिन नेपालमा भने एउटा पनि छैन ।

सम्बन्धित खबरहरु