Health and accident insurance for women journalists:

काठमाडौं । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९÷८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उहाँले बताउनुभयो ।

जिटुजी फोलिसीअन्तर्गत पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउन राष्ट्रिय बिमा कम्पनी लिमेटडसँग सम्झौता भएको र बिमावापत लाग्ने प्रिमियम आमसञ्चार प्राधिकरणले जम्मा गरिदिने अध्यक्ष यादवको भनाइ छ । बिमावापत पत्रकारले वर्षमा रु एक लाखसम्मको औषधोउपचार खर्च र रु सात लाखसम्मको दुर्घटना बिमा सुविधा पाउने छन् ।

यस्तै आमसञ्चार प्राधिकरण मधेस प्रदेशले यही पुस महिनाको तेस्रो सातादेखि पर्साको वीरगञ्जबाट प्रेस प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने जनाएको छ । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्ने पत्रकारको स्वतः स्वास्थ्य तथा दुर्घटना बिमा हुने अध्यक्ष यादवले बताउनुभयो । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्न मधेस प्रदेशअन्तर्गतको जिल्लामा कम्तीमा दुई वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएको हुनुपर्ने प्रावधान राखिएको छ ।

यसका साथै प्रेस प्रतिनिधि परिचयपत्रका लागि पत्रकारले कार्यरत सञ्चारमाध्यमको नियुक्तिपत्र, सम्बन्धित सञ्चारमाध्यमको अद्यावधिक गराएको कागजात, नागरिकता प्रमाणपत्रलगायतको कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको आमसञ्चार प्राधिकरणले जनाएको छ । रासस

 

 

सम्बन्धित खबरहरु