Meeting between Prime Minister Dahal and President Oli:

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहाललाई भेट्न अध्यक्ष ओली खुमलटारस्थित निवासमा पुग्नुभएको हो ।

यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । दाहाल नेकपा (एमाले)लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

निर्यात प्रवद्र्धनमा जोड दिन ध्यानाकर्षण
कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराइएको छ । १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग सङ्घले आज प्रदर्शनीस्थल बुटवल मण्डपमा आयोजना गरेको कार्यक्रमका वक्ताले आयातलाई निरुत्साहित गरी निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले स्वदेशी उत्पादनको पहिचान र कृषि तथा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि आयोजित प्रदर्शनीमा कृषिजन्य उद्योगको सम्भावना खोजिने बताउनुभयो । उहाँले किसानका आवश्यकताको पहिचान एवं वर्गीकरण गरेर मल, बीउ, बिजुली तथा प्राविधिक क्षेत्रमा सहयोग दिने र व्यावसायिक कृषकलाई सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्ने अवसर सिर्जना नगर्दासम्म कृषिको विकास हुन नसक्ने धारणा राख्नुभयो ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका महाशाखा प्रमुख शिवप्रसाद अर्यालले नीतिगत व्यवस्थामा परिवर्तन नआएसम्म कृषि क्षेत्रका विकास सम्भव नभएको बताउनुभयो । किसानलाई आवश्यक परेको बखत मालखाद उपलब्ध गराउनको लागि प्रदेश सरकारको एकल प्रयासबाट मात्रै सफल नहुने उल्लेख गर्दै उहाँले पहिला नै कोटा निर्धारण गरी प्रदेश सरकारलाई रकम उपलब्ध गराएमा सरकारबाट मल खरिद प्रक्रिया अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले किसानको लागि ब्याजमा अनुदान, स्मार्ट कृषिगाउँमार्फत सहयोग, यन्त्रीकरण तथा पूर्वाधार निर्माणको लागि सहयोग गर्दै आएको उहाँले जानकारी गराउनुभयो । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक प्रणालीमा रुपान्तरण गर्नु, बाली बस्तुको मूल्य श्रृङ्खलामा आधारित कृषि उद्ययोगको विकास गर्नु अहिलेको आवश्यकता भएको भन्दै सोहीअनुसार योजना मन्त्रालयले बनाएको उहाँले बताउनुभयो ।

प्रदेशका पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा परवेज आलमले तीनै तहमा सरकार भए पनि पशुपंक्षी विकासको खाका तथा संरचना अझै स्पष्ट नभएको बताउनुभयो । उहाँले विषयगत कार्यालयमा कार्यरत जनशक्तिमा सेवा तथा सुविधाको सुरक्षाको प्रत्याभूति नहुनु, बदलिदो परिस्थितिमा कर्मचारी आफूलाई रुपान्तरण गर्न नसक्नु, जनप्रतिनिधिको क्षमता विकास हुन नसक्दा कृषि तथा पशु क्षेत्रमा सेवा प्रभाव सोचेअनुसार नभएको धारणा राख्नुभयो ।

सहकारी विज्ञ तथा रुपन्देही उद्योग सङ्घका आर्थिक सल्लाहकार डा खगराज शर्माले कृषि क्षेत्रको विकासका लागि सहकारी मोडेलमा एकीकृत सेवाको प्रवाह गर्न नसक्दासम्म कृषिको विकास हुन नसक्ने बताउनुभयो । उहाँले सरकारी तहबाट कागजी रुपमा सेवा र अनुदानको प्रवाह भएको देखिए पनि समष्टिगत रुपमा कृषि क्षेत्रको विकास लक्षित योजना बनाउन सुझाव दिनुभयो ।

नेपाल लाइभस्टक इन्नोभेसन आयोजना बुटवलका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले पशुपंक्षी क्षेत्रमा नेपालमा धेरै राम्रा काम भए पनि त्यसको दीगोपनाको अभाव भएको टिप्पणी गर्नुभयो । उहाँले व्यवसायी तथा कृषकलाई प्राविधिक सेवाको पहुँच, पशु सेवा प्राविधिकको व्यवस्था तथा स्थानीय स्रोतको सही परिचालन गर्नु जरुरी रहेको बताउनुभयो । गैडहवा गाउँपालिकाका प्रमुख सुरेन्द्रराज पौडेलले स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।रासस

 

 

सम्बन्धित खबरहरु