२० माघ, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले ‘भ्रष्ट-दलाल’हरुमाथि जनकारबाही सुरु गर्ने बताएको छ ।
नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा केही दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा फागुन १ देखि चैत २४ गतेसम्म संगठन र संघर्षको अभियान चलाउने प्रस्ताव गरिएको छ । मौखिकरुपमा पेश गरिएको प्रस्तावमाथि बुधबारबाट थप छलफल हुने नेताहरुले बताएका छन् ।
अभियानका क्रममा देशभर संगठन सुदृढीकरणसँगै जानकारबाही अभियान चलाउने प्रस्ताव छ । ‘सामाजिक विकृति विसंगति, भ्रष्ट दलाललाई जनकारबाही गर्ने प्रस्ताव आएको छ’ एक नेताले भने-‘देशभरमा २ सयवटा यस्ता कारवाही गर्ने तयारी छ ।’
संगठन सुदृढीकरण अन्तरगत जनसरकारको अवधारणा अनुसार जनसमितिहरु बनाइनेछ । जनसेनाको अवधारणामा राष्ट्रिय युवा जनस्वयम् सेवक ब्यूरोलाई ब्यूँताइने छ ।
उदयबहादुर चलाउने ‘दीपक’ नेत्रविक्रम चन्द विप्लवसँगै पार्टी छाडेर गएपछि बैद्य माओवादीमा यो संगठन निश्त्रिmय जस्तै भएको थियो । नेताहरुका अनुसार विप्लवकै योजनाअनुसार बनेको जनस्वयंम सेवकका अधिकांश नेता कार्यकर्ता उनीसँगै गएका छन् ।
३७ केन्द्रीय सदस्य थपिए
माओवादीको बैठकले विप्लव समूह छाडेर गएपछि रिक्त हरेका पदहरुमा नेताहरुलाई बढुवा गरेको छ । बैकल्पिक केन्द्रीय सदस्यहरुलाई पूर्ण बनाइएको छ भने केही नयाँ आएका छन् ।
माओवादीका अनुसार ३७ केन्द्रीय सदस्य थपिएको छ । उनीहरु बैठकमा सहभागी भइसकेका छन् । ३७ जनालाई केन्द्रीय समितिमा थप गरिएपछि एक सय २५ सदस्य केन्द्रीय समिति बनेको छ । यसअघि विप्लव समूहले पार्टी छाडेपछि १५१ सदस्यीय केन्द्रीय समितिका ८८ जना मात्रै बाँकी थिए ।
क्षेत्रगत रुपमा केन्द्रीय समितिमा बढुवा गरिएकोले केही जुनियर नेताहरु पनि परेको बताइएको छ । सेती महाकालीबाट आनन्द कार्की, खेम बम, मिलन र देवकी मल्ल केन्द्रीय सदस्यमा चयन भएका छन् भने भेरी-कर्णालीबाट चक्रपाणी, विमुख र शान्ता चयन भएका छन् ।
यस्तै, थारुवानबाट सिंहराज र सुभाष, मगराँतबाट हस्तबहादुर केसी, पिताम्बर आचार्य, गीरबहादुर थापा, रक्तिम, सागर, ताहाल तथा अवधबाट भानु श्रेष्ठ, तमुवानबाट लोकबहादुर थापा र सरला तथा ताम्सालिङबाट पूर्ण खड्का र अम्बिका मुडभरी, नेवाःबाट सीता आचार्य, पार्वती र प्रतिभा केन्द्रीय सदस्य चुनिएका छन् ।
यसैगरी मिथिलाबाट रामनारायण, विश्वजित र श्याम तथा कोचिलाबाट विजय राईलाई केन्द्रीय सदस्यमा बढुवा गरिएको छ ।
यस्तै, किराँतबाट देवराज राई र मोहन राई, लिम्बुवानबाट नबिन लिम्बु र अमरसिंह थापा तथा विदेशबाट कर्ण शाही (यूके) र जेबी रसाइली (भारत) तथा जबस मोर्चाबाट जयन्ती र युवाबाट साकार आचार्य केन्द्रीय सदस्यमा बढुवा भएका छन् । बढुवा भएका सवैजनालाई जारी केन्द्रीय समिति वैठकमा उपस्थिती गराइएको छ ।
प्रवाससहित पाँच क्षेत्रीय ब्युरो गठन
नेकपा-माओवादीको केन्द्रीय समितिले पाँच क्षेत्रीय ब्युरोको गठन गरेको छ । प्रवास ब्युरोहित पाँच क्षेत्रीय ब्युरो गठन गरिएको छ । क्षेत्रीय ब्युरोबाट विभिन्न राज्यहरु पनि फेरबदल गरिएका छन् ।
कार्यविभाजन चक्रिय प्रणाली
बैद्य माओवादीको बैठकले नेताहरुको कार्यविभाजन समेत गर्दैछ । कार्यविभाजनमा नेताहरुले ठाउँ रोज्न थालेपछि चक्रिय प्रणालीको अवधारण अघि सारिएको छ ।
निश्चित गरिएको ठाउँमा जान नेताहरुले आनाकानी गर्ने र कार्यस्थलमै नपुगी रिपोर्टिङ गर्ने गरेको भन्दै चक्रिय प्रणालीको अवधारणा अघि सारिएको स्रोतले बताएको छ ।