bidhyaखोटाङ, माघ । नेकपा (एमाले)की उपाध्यक्ष विद्या भण्डारीले ‘प्रक्रिया’ भन्ने बित्तिकै सिस्नुले पोले जस्तै तर्सिनुपर्ने कारण नभएको बताएकी छिन्  ।

सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेको आयोजनामा खोटाङको अर्खौलेमा सुरु भएको पाँचदिने ‘नमस्ते खोटाङ–२०७१’को आज उद्घाटन गर्दै उपाध्यक्ष भण्डारीले संविधानसभा र निर्वाचन पनि स्वयम् एउटा प्रक्रिया भएको उल्लेख गरिन् ।

उनले भनिन्, “दुई जना सभासद्ले मात्र फरक मत राखे भने पनि प्रक्रियामा जानै पर्छ, ६०१ जना सभासद्ले नै सहमति गरे पनि प्रक्रियामा जानुपर्छ, त्यही भएर प्रक्रिया भन्ने बित्तिकै सिस्नुले पोलेजस्तै उफ्रनुपर्ने कुनै कारण छैन ।”

हाल संविधानसभामा बनेको सत्ता गठबन्धनले शान्ति र स्थिरता कायम गर्दै देशलाई स्थितरता र अग्रगति दिन चाहेको भण्डारीले बताईन् । संविधान निर्माणका लागि वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै भण्डारीले सहमतिमा नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्न आफूहरु अहोरात्र खटिएको उल्लेख गरिन् ।

उपाध्यक्ष भण्डारीले दुई तिहाई बहुमत नभएसम्म मुलुकले संविधान नपाउने भएकाले काँग्रेस एमालेलगायत अन्य दल मिलेर संविधान बनाउनुपर्नेमा जोड दिईन् । संविधानमा समेट्नुपर्ने विषयवस्तु स्पष्ट भएकाले यसका विषयमा विवाद गर्नुपर्ने आवश्यकता नभएको भण्डारीको भनाइ थियो ।

देशको धार्मिक स्वतन्त्रता, सङ्घीयता, गणतन्त्रलगायतमा प्रतिकूल असर नपर्ने गरी संविधान जारी गरिने उपाध्यक्ष भण्डारीले बताईन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणमा निहुुँ खोजेर हिँड्नुपर्ने कारण नभएको उनको  स्पष्टोक्ती थियो ।

नेत्री भण्डारीले भनीन्, “सहमतिको सरकार बनाउन आउनुस्, सरकारमा सामेल हुनुस् भनिरहेका छौँ, जनताले शान्ति चाहेको छ, संविधान चाहेको छ, तर केही दल र नेताहरुमा हिंसाको गन्ध गएको छैन, शान्ति र विकासको कुरा गर्नुपर्ने बेलामा रगतको खोलो बगाउने खेल भइरहेको छ ।”

जिल्लाको विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री राधा ज्ञवालीले आगामी तीन वर्षभित्र मुलुकको विद्युत्भार कटौती अन्त्य गर्न पहल गर्ने बताईन् ।

खोटाङको रभुवास्थित दूधकोसी जलासययुक्त जलविद्युत् आयोजनाको निरीक्षण गरेपछि अर्खौलेमा आयोजित कार्यक्रममा आएकी मन्त्री ज्ञवालीले अकूत बिजुली उत्पादन गर्दै उज्यालो र सम्वृद्ध नेपाल बनाउने योजना सुनाईन् ।

देशमा दुईदेखि तीन लाख मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि गरिबीका कारण अपेक्षित प्रगति गर्न नसकिएको उल्लेख गरिन् । उहाँले सडक, पुललगायतका भौतिक पूर्वाधारको विकास नभएका कारण मुलुकमा अपेक्षा गरेअनुसार विद्युत् उत्पादन गर्न नसकिएको बताईन् ।

लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरीलगायतका स्थलको पर्यटन प्रवद्र्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेले सो कार्यक्रमको आयोजना गरेको हो ।

अर्खौलेको सालपाचौरमा हप्ता दिनसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लाव्यापी खुला भलिबल प्रतियोगीता, विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता विभिन्न भेषभूषा, कला संस्कृति र पर्यटकीय स्थलको फोटो प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट साङ्गीतिक तथा हास्यव्यङ्ग्य प्रहसन, नेवार समुदायको लाखे, राई समुदायको साकेला, विभिन्न जातीय झाँकी प्रदर्शनलगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबरहरु